आगामी चुनावमा प्रमुख राजनीतिक दलहरूले १५ सिट रहेको काठमाडौं उपत्यकामा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् । पुराना दलहरूले पनि यसपटक युवालाई अवसर दिएका छन् ।
कांग्रेसले काठमाडौं जिल्लामा १० मध्ये नौ क्षेत्रमा नयाँ उम्मेदवार छानेको छ । १ मा प्रबल थापा, २ मा कबिर शर्मा, ३ मा रमेश अर्याल, ४ मा सचिन तिमल्सेना, ५ मा प्रदीप पौडेल, ६ मा कृष्ण बानियाँ ‘सबुज’, ७ मा प्रमोदहरि गुरागाईं, ८ मा सपना राजभण्डारी, ९ मा नानु बाँस्तोला र १० मा हिमाल कार्की उम्मेदवार बनेका छन् । काठमाडौं ५ का पौडेलबाहेक अन्य क्षेत्रमा नयाँ उम्मेदवार हुन् ।
कांग्रेसले ललितपुर १ मा उदयशमशेर राणा, २ मा प्रेमकृष्ण महर्जन र ३ मा जितेन्द्रकुमार श्रेष्ठ तथा भक्तपुर १ मा किरण न्यौपाने र २ मा कबिर राणालाई उम्मेदवार बनाएको छ । भक्तपुरमा कांग्रेसका दुवै उम्मेदवार नयाँ हुन् ।
एमालेले उपत्यकामा नयाँ र पुराना गरी मिश्रित रूपमा उम्मेदवार छानेको छ । काठमाडौं १ मा मोहन रेग्मी, २ मा मणिराम फुयाँल, ३ मा रामेश्वर फुयाँल, ४ मा डा. राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा अमनकुमार मास्के, ७ मा प्रकाशकुमार श्रेष्ठ, ८ मा राजेश शाक्य, ९ मा डा. अजयक्रान्ति शाक्य र १० मा विनोद श्रेष्ठ उम्मेदवार बनेका छन् ।
ललितपुर १ मा चेतनाथ सञ्जेल, २ मा प्रेमबहादुर महर्जन र ३ मा सन्दन थापामगर तथा भक्तपुर १ मा सोम मिश्र र २ मा महेश बस्नेत उम्मेदवार बनेका छन् ।
रास्वपाले यसअघि चुनाव जितेका काठमाडौं ६, ७ र ८ का उम्मेदवारलाई दोहोर्याएको छ । ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न लागेकी रञ्जु दर्शना दोस्रोपटक संसदीय निर्वाचन लड्न लागेकी हुन् । ०७४ मा विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेकी उनले ०७९ मा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । यसपटक उनी रास्वपाबाट क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छिन् ।
क्षेत्र नम्बर २ मा सुनील केसीले रास्वपाबाट टिकट पाएका छन् । यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशका सदस्य थिए । प्रदेश सभाबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन् ।
क्षेत्र नम्बर ३ का उम्मेदवार रहेका राजु पाण्डे यसअघि काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रमुख थिए । राजीनामा दिएर उनी निर्वाचनमा होमिएका हुन् । काठमाडौं ४ का रास्वपा उम्मेदवार पुकार बम अघिल्लो निर्वाचनमा रास्वपाबाटै काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरेर तेस्रो भएका थिए ।
क्षेत्र नम्बर ५ का सस्मित पोखरेल पनि नयाँ अनुहार हुन् । उनले यसअघि बालेन शाहको सचिवालयमा बसेर काम गरेका थिए । क्षेत्र नम्बर ९ का डोलप्रसाद (डिपी) अर्याल पनि पहिलोपटक चुनाव लड्न लागेका हुन् । अघिल्लोपटक उनी रास्वपाको समानुपातिक सूचीमा थिए । त्यस्तै, क्षेत्र नम्बर १० का प्रदीप विष्ट पनि नयाँ अनुहार हुन् ।
ललितपुर १ का बुद्धरत्न महर्जन र क्षेत्र नम्बर २ का जगदीश खरेल पनि नयाँ अनुहार हुन् । खरेल चुनावी सरकारको सञ्चारमन्त्रीबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । क्षेत्र नम्बर ३ की डा. तोसिमा कार्की दोहोरिएकी छिन् । अघिल्लो चुनावमा पनि उनी यो क्षेत्रमा निर्वाचित भएकी थिइन् । भक्तपुर १ मा रास्वपाले रुकेश रञ्जित र २ मा राजीव खत्रीलाई उम्मेदवार बनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट पनि धेरै नयाँ अनुहार छन् । काठमाडौं १ मा मेनका भण्डारी, २ मा नितेश पौडेल, ३ मा नीरज लामा, ४ मा इन्द्र भुसाल, ५ मा कल्पना शर्मा, ६ मा हेमलाल शर्मा (हिमाल), ७ मा वसन्त मानन्धर, ८ मा सुमन सायमी, ९ मा राधाकृष्ण महर्जन र १० मा रूपा महर्जनलाई टिकट दिइएको छ ।
त्यस्तै, ललितपुर १ मा सुनील महर्जन, २ मा राजेन्द्र अमात्य र ३ मा राजकाजी महर्जन तथा भक्तपुर १ मा हरिराम लवजू र २ मा रामप्रसाद सापकोटा (दीपशिखा) उम्मेदवार बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुराना र नयाँ उम्मेदवारको मिश्रण छ । काठमाडौं १ बाट रवीन्द्र मिश्र दोहोरिएका छन् । अघिल्लो निर्वाचनमा उनी थोरै मतले पराजित भएका थिए । २ मा कुन्ती पोखरेल दोहोरिएकी छिन् । यसअघि उनी रास्वपाकी सोविता गौतमसँग पराजित भएकी थिइन् । ३ मा डा. सुन्दरसिंह बोहरा, ४ मा सुरेन्द्र भण्डारी, ५ मा कमल थापा, ६ मा उद्धवराज भेटवाल, ७ मा लालकुमार लामा, ८ मा नवीन शाही, ९ मा दिलीप कार्की र १० मा बलराम थापा छन् । त्यस्तै, ललितपुर १ मा सजिना कार्की, रघुवरराज थापा र ३ मा सबिन खड्का तथा भक्तपुर १ मा भरत खड्का र २ मा विक्रम थापा उम्मेदवार बनेका छन् ।
काठमाडौं ३ र ५ मा चर्चित व्यक्तिबिच प्रतिस्पर्धा
काठमाडौं ३ र ५ मा चर्चित व्यक्तिहरू उम्मेदवार रहेकाले यहाँको चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । ५ मा कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट पौडेल विजयी भएका थिए । एमालेले ईश्वर पोखरेललाई अघि सारेको छ । त्यस्तै, राप्रपाका नेता कमल थापा पनि यही क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् । रास्वपाबाट सस्मित पोखरेल चुनावी मैदानमा छन् । गतिशील लोकतान्त्रिक पार्टीबाट नायिक निशा अधिकारी तथा उज्यालो नेपाल पार्टीबाट यहाँ श्री गुरुङ उम्मेदवार छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं ३ रोजेपछि यहाँको चुनावले पनि धेरैको ध्यान खिचेकोे छ । रास्वपासँगको एकता भाँडिएपछि उनी उज्यालो नेपाल पार्टीबाट चुनाव लड्न लागेका हुन् ।
काठमाडौं ३ मा अघिल्लो निर्वाचनमा कांग्रेस विजयी भएको थियो । यसपटक रमेश अर्याललाई उठाएको छ । रास्वपाबाट काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखबाट राजीनामा दिएका राजु पाण्डे छन् । त्यस्तै, एमालेले रामेश्वर फुयाँल छन् । नेपाल कम्युनिस्ट पार्टीबाट नीरज लामा यो क्षेत्रमा उम्मेदवार छन् ।