कोशीका पाँचजना जनप्रतिनिधि राजीनामा दिएर प्रतिनिधिसभाको चुनावमा होमिए

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशका पाँचजना जनप्रतिनिधि राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् । वडाध्यक्ष र पालिका प्रमुखहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सदस्यको विभिन्न पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् ।

चार पालिका प्रमुख, एक उपप्रमुख र एकजना वडाध्यक्ष उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् । जसमा धरान उपमहानगरपालिका प्रमुख हर्कराज सम्पाङ राई पनि छन् । उनी ०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट धरान उपमहानगरपालिको प्रमुखमा निर्वाचित भएका थिए । अहिले उनी श्रम संकृति पार्टी निर्माण गरेर प्रतिनिधिसभा सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदावरी दर्ताको तयारीमा जुटेका छन् ।

हर्कसँगै धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई उर्फ मनोज पनि नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी १ को प्रतिनिसिभा सदस्यको उम्मेदवारी दर्ताको तयारीमा जुटेको बताए। उनले भने, ‘म पनि ०७९ सालको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिका– १७ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएको थिएँ । अब पार्टीले सुनसरीको प्रतिनिधिसभा सदस्य १ बाट उम्मेदवारी बनाएको छ । दर्ताको तयारीमा जुटेको छु ।’

यता इलामको सूर्योदय नगरपालिकाका नगरप्रमुख पनि राजीनामा दिएर इलामको प्रतिनिधिसभा १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारीमा छन् । उनी तत्कालीन नेकपा एकीकृत समाजवादीबाट ०७९ सालमा नगरप्रमुखमा निर्वाचित भएका हुन् । सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई पनि राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ताको तयारीमा छन्। उनी स्थानीय तहको निर्वाचन ०७९ मा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए।

ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारी बन्ने तयारीमा छिन्। उनी ०७९ मै नेकपा एमालेबाट निर्वाचित हुन्। उनी पनि अहिले उम्मेदवारी दर्ताको तयारीमा जुटेकी छिन् । यसैगरी उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई पनि राजीनामा दिएर प्रतिनिसभा सदस्य उठ्ने भएका छन्। उनले उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनी ०७९ सालमा माओवादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष हुन् । 

सुझावित समाचार