बालेनलक्षित ओलीको टिप्पणी : चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ, लड्ने हो, होइन मलाई थाहा छैन

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण
  • 'अलिकति चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ । लड्ने हो कि होइन, मलाई थाहा छैन । लड्ने भए पनि अरूले पनि पहिला लडेकै हुन् । न यहाँ घर छ, न डेरा छ, न परिवार न आफन्त, न चिनजान—यस्तासँग महाभिडन्त हुन्छ ? के भनेको ? यहाँका नागरिकले दारी पालेको देख्नासाथ बालेन हो कि भनेर सोध्छन् । यहाँका नागरिकले चिनेका छैनन् ।’ 

एमाले अध्यक्ष केपी ओलीले बालेनलाई लक्षित गर्दै आफ्नाविरुद्ध उम्मेदवारी दिँदा चर्चा हुन्छ भन्ने सोचेर उम्मेदवारी दिने प्रयास भएको आरोप लगाएका छन् । मनोनयन दर्ताका लागि दमक आएका ओलीले सोमबार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बालेनलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् ।

‘अलिकति चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ । लड्ने हो, हैन मलाई थाहा छैन,’ ओलीले भने, ‘लड्ने हो भने पनि त अरूले पनि लडिखेली आएकै हुन् त ! पहिला अरूले पनि लडेकै हुन् । त्यसकारण यसबारे सोच्नुपर्दैन ।’

ओलीले बालेनलाई झापा–५ मा कसैले नचिनेको दाबी गरे । बालेनलाई नचिनेर यहाँका मतदाताले दारी पालेको देख्नेबित्तिकै बालेन हो भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरे । ‘न यहाँ घर छ न डेरा छ, न परिवार न आफन्त, न नातागोता न चिनजानको यस्तासँग महाभिडन्त हुन्छ ? के भनेको ?’ उनले भने, ‘मैले सुनेको दारी पालेको देख्दा बालेन भनेर सोध्छन् । यहाँका नागरिकले चिनेका छैनन् ।’ 

ओलीले आफूलाई भने डेरा खोज्न सहयोग गर्ने बताए । उनले यहाँ बालेनलाई सुरक्षा दिने भन्दै नडराउन आग्रह गरे । उनले झापा–५ का जनताले फैसला गर्ने पनि बताए । उनले दमक आफू आउँदा बस्न दिएकै कारण पनि अरू घर जलाएर अपराध कर्म गरेको आरोप लगाए । ‘मलाई कसैले कहिलेकाहीँ बस्न दियो भनेर घर जलाउने अपराधी हैनन् ? २३ वर्षअघि मैले बेचेको घर जलाउने ? अर्काको घरमा म बसेको थिएँ भनेर आगो लगाउने ? यो पनि कुनै राजनीति हो ?’ उनले भने । उनले बनाउने र जलाउनेबिच प्रतिस्पर्धा हुन लागेको बताए । ‘टावर बनाउने र जलाउने को हो, तपाईंहरूलाई थाहा नै छ,’ उनले भने, ‘यो बनाउन खोजेको भाष्य हैन यथार्थ हो ।’

ओलीले झापाको विकासमा आफ्नो ठुलो योगदान रहेको दाबी गर्दै उत्तर झापामा आधारभूत विकास भइसकेको र अब दक्षिणी क्षेत्रमा विकास गर्न बाँकी रहेको बताए । निर्वाचन नजिकिँदै जाँदा पनि पर्याप्त सुरक्षा सुनिश्चित नभएको उनको गुनासो थियो ।

See More On

सुझावित समाचार