बालेनप्रति मधेशका आमनागरिकको मिश्रित प्रतिक्रिया छ । काठमाडौं उपत्यकामा जन्मेहुर्के पनि पुख्र्यौली थातथलो मधेशमै रहेकाले मधेशका प्रायः स्वतन्त्र पृष्ठभूमिका युवा पुस्ता उनीप्रति सकारात्मक रहेको प्रतिक्रिया छ । पाको पुस्ता भने संसदीय व्यवस्थामा एक्लो व्यक्तिले केही गर्न नसक्ने भएकाले त्यति फरक नपर्ने धारणा राख्छन् । लहानका व्यवसायी अशोकलाल अमात्यलेराम्रो मान्छे जुनसुकै ठाउँमा आउनु राम्रो पक्ष रहेको बताए । अन्य दलहरूले पनि बालेनजस्तै युवालाई उम्मेदवार बनाउनुपर्ने उनको धारणा छ ।
नवराजपुरको फुलबरियाका विद्यार्थी सुमितकुमार यादवलेस्थानीय तहदेखि प्रदेश, संघसम्म भ्रष्टाचार मौलाएका वेला मतदाताले विकल्प खोजिरहेको बताए । ‘जनताले भोग्दै आएका दैनिक समस्याबारे नजरअन्दाज गर्ने नेताका चालचलनले दिक्क भएका सर्वसाधारण नयाँ अनुहारको खोजीमा छन्,’ उनले भने, ‘काठमाडौंमाकाम गरेर देखाएका बालेनले मधेशमा केही गर्लान् कि भन्ने आशाले एकपल्ट हेरौँ न त भन्नेमा जनता छन् । युवा पुस्ता त राम्रो काम गर्नेलाई सघाउनुपर्छ भन्ने पक्षमा छौँ ।’वीरगन्जमा १० वर्षदेखि रिक्सा चलाउँदै आएका श्रीपुरका गजुवीर साहले यसपटक प्रधानमन्त्रीकारूपमा बालेनलाई देख्न चाहेको सुनाए । मधेशका युवा रहेका बालेनलाई मधेशबाटै निर्वाचनमा होमिनुपर्ने उनले बताए ।
वीरगन्ज महानगरपालिका–१७, अलौका युवा सोनु यादवले महानगरको मेयर बनेर कामसँगै चर्चा कमाएका बालेन प्रधानमन्त्री बनेमा देश विकासले गति लिने विश्वास व्यक्त गरे । ‘यसपटकको निर्वाचनमा पुराना दललाई छाडेर नयाँ अनुहारलाई सहयोग गर्ने मनसाय छ,’ उनले भने । पर्साको उदयपुरघुर्मीका किसान मकसुद आलमले पनि बालेनलाई मधेशको निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न अनुरोध गरे । ‘अहिले मधेशबाट चुनाव लडेको हेर्ने चाहना थियो । तर, केपी ओलीको क्षेत्रबाट पनि निर्वाचनमा होमिँदा अलिकति समस्या हुनेजस्तो लाग्दैछ । तर, मधेशीको छोरालाई प्रधानमन्त्रीका रूपमा हेर्ने सबैको चाहना रहेको छ,’ उनले सुनाए ।
सुवर्ण गाउँपालिकाका व्यवसायी उत्सव सार्थीले बालेनलाई निर्वाचनमा जिताउन सबै क्षेत्रका मतदाता लाग्नुपर्ने बताए । पर्सागढी नगरपालिकाका विद्यार्थी रुचि चौरसियाले जेन–जी आन्दोलनपछि देशले परिवर्तन खोजेको बताइन् । ‘अब कि बार, बालेन सरकार’ बनाउनजेन–जी सक्रिय भएर लागेका छन् ।परिवर्तन सम्भव हुनेछ,’ उनले भनिन् ।
वीरगन्जका व्यवसायी प्र्रदीप मित्तलले उद्योगी व्यवसायी पनि यसपटक परिवर्तन र नयाँ अनुहारलाई मतदान गर्ने योजनामा रहेको सुनाए । व्यवसाय पनि धराशयी बनेकाले नयाँ र युवालाई सरकारको नेतृत्वमा पुर्याउने चाहना रहेको उनले बताए । गहवाका युवा सफल खतिवडाले बालेनलाई झापा ५ भन्दा आफू जन्मेको जिल्ला महोत्तरीको कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन सुझाए ।
विश्रामपुर गाउँपालिकाका रिक्साचालक सुनील पटेलले ‘अब कि बार बालेन सरकार’ बनाउनेगरी मतदान गर्ने योजना रहेको बताए । पुराना नेताहरूले भ्रष्टाचारबाहेक केही नगरेकाले युवा प्रधानमन्त्री बनाउनुपर्ने उनले बताए । पर्साका दलित युवा पानालाल महराले समाजले नयाँ नेतृत्व खोजिरहेको र त्यो बालेनमा देखेको बताए ।