नेकपामा २५ सय केन्द्रीय सदस्य

पार्टी एकताको अढाई महिनापछि शपथ, कार्यविभाजनको टुंगो छैन

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

दर्जनभन्दा बढी दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा २५ सय केन्द्रीय सदस्य बनेका छन् । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित केन्द्रीय नेताले मंगलबार शपथ लिएका छन् । पार्टी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भैरहेका वेला ठुलो संख्यामा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्ड र नेपालसहितका नेताहरूले प्रत्यक्ष तथा राजधानीबाहिर र देशबाहिर रहेका केन्द्रीय सदस्यले भर्चुअल माध्यमबाट शपथ लिएका हुन् । नेकपाको केन्द्रीय कमिटी दुई हजार ४९९ सदस्यीय छ । 

सुरुमा ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले आफैँले शपथ लिए । त्यसपछि प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई शपथ खुवाए । अनि सहसंयोजक नेपालले कार्यक्रम सञ्चालन गरे भने संयोजक प्रचण्डले प्रत्यक्ष र भर्चुअल दुवै माध्यमबाट स्वदेश र विदेशमा रहेका सबै केन्द्रीय सदस्यलाई शपथ खुवाएका हुन् ।

गत १९ कात्तिकमा माओवादी, एकीकृत समाजवादीसहित विभिन्न १० घटक मिलेर बनेको नेकपामा त्यसयता मातृभूमि जागरण अभियानका भीम रावल, जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठदेखि र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नौ घटक जोडिएका छन् । 

शपथ कार्यक्रममा प्रचण्डले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने बताए । आत्मसमीक्षा गरेर नेकपा अघि बढेको भन्दै प्रचण्डले कमजोरी सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘हामीले आत्मसमीक्षा गर्यौँ । हाम्रो भागमा परेको कमजोरीको समीक्षा पनि गर्यौं । र, हामीले सच्चिएर–रूपान्तरित भएर अगाडि बढ्ने संकल्प गर्यौँ ।’ उनले नेताहरूलाई जनताकेन्द्रित भएर अगाडि बढ्ने निर्देशनसमेत दिए । 

सहसंयोजक नेपालले हाल २५ सय हाराहारीको केन्द्रीय सदस्य बनाउनु बाध्यता भएको बताए । एकतामा आएका सबैलाई समेट्दा संख्या ठुलो भएको उनले बताए । ‘अहिले एकतामा आएका धेरै साथीहरूलाई केन्द्रीय सदस्य बनाएका छौँ । एक वर्षभित्र केन्द्रीय समिति छरितो बनाउनेछौँ,’ उनले भने । उनले २१ फागुनको निर्वाचन नेताहरूका लागि अग्निपरीक्षा भएको भन्दै चुनावको तयारीमा लाग्न निर्देशन दिए । शपथसँगै अब केन्द्रीय नेताहरूको कार्यविभाजन हुने र बाँकी संगठनात्मक समायोजनको काम अघि बढ्ने नेताहरूले बताएका छन् । एकताको दुई महिना बित्दा पनि संयोजक प्रचण्ड र सह–संयोजक नेपालबाहेक अन्य नेताको कार्यविभाजन भएकै छैन ।  

See More On

सुझावित समाचार