नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूको शपथ मंगलबार हुँदै छ । केन्द्रीय कमिटीका सदस्यहरूको शपथग्रहण र बैठक हुने सहसंयोजक माधवकुमार नेपालले जानकारी दिए । ‘बैठक र शपथग्रहण कार्यक्रम पनि हुनेछ । संगठनात्मक व्यवस्थापन गर्दै जाँदै छौँ । संगठनात्मक एकीकरण र चुनावको तयारीमा लाग्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
केन्द्रीय सदस्यहरूको शपथ भौतिक उपस्थिति र डिजिटल माध्यमबाट समेत हुने भएको छ । कतिपय सदस्य राजधानीबाहिर भएकाले डिजिटल माध्यमबाट पनि शपथग्रहण गराउन लागिएको नेकपाले जनाएको छ । नेकपाको केन्द्रीय समितिको संख्या २५ सय हाराहारीको छ । सबै घटकका नेतालाई समेट्नु पर्दा केन्द्रीय समितिको आकार ठुलो भएको नेकपाले जनाएको छ । केन्द्रीय समितिको संख्या ठुलो भए पनि केन्द्रीय कार्यसमिति भने ६०१ सदस्यीय हुनेछ ।
नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक नेपाल छन् । बाँकी नेताहरूको कार्यविभाजन भएको छैन । सांगठनिक समायोजनका काम बाँकी हुँदा केन्द्रीय नेताहरूले समेत काम पाएका छैनन् । विगतमा साबिक दलका स्थायी समितिमा रहेका समेटेर पोलिटब्युरो, पदाधिकारीलाई समेटेर सचिवालय र शीर्ष नेताहरू समेटेर कार्यसंयोजन समिति गठन गर्ने तयारी छ ।
नेकपा बनेयता सातै प्रदेशमा एकता सन्देश सभा भएको छ । गत १२ मंसिरमा सुदूरपश्चिमबाट सुरु भएको सन्देश सभा १३ मंसिरमा लुम्बिनी, १४ मंसिरमा गण्डकी, १५ मंसिरमा कोशी, २० मंसिरमा मधेश, २१ मंसिरमा प्रवास (भर्चुअल), २७ मंसिरमा कर्णाली र ५ पुसमा बागमती, समन्वय र उपत्यका प्रदेशमा सम्पन्न भएको छ । जिल्ला र पालिकामा पनि सन्देश सभा र भेला भएका छन् । नेकपाको तहगत कार्यकारी समितिहरूमा केन्द्र, भौगोलिक र गैरभौगोलिक प्रदेश, जिल्ला, पालिका र वडा कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिकस्तरका समिति संगठन समितिको रूपमा रहनेछन् ।
जसपा नेपालका उपाध्यक्ष थापा नेकपामा प्रवेश
जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ता र मनीष लिम्बू नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । जसपा नेपालको थापा समूहसँग पाँचबुँदे र लिम्बुवान क्रान्तिकारीसँग दुईबुँदे सहमति भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार दुवै पक्षलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले पार्टीमा स्वागत गरे ।
‘हामी १७ वटा पार्टी पुगिसकेका थियौँ । आज हामी दुइटा अलग–अलग समूहसँग पनि एकतामा गाँसिएका छौँ,’ प्रचण्डले भने, ‘पर्सि अझ ठुलो कार्यक्रम हुँदै छ ।’ व्यक्तिगत हैसियतमा पनि एमाले परित्याग गरेर नेकपामा प्रवेश गर्ने लहर चलेको छ ।’ पछिल्लोपटक रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेकपामा समाहित भएको थियो । सहसंयोजक नेपालले पार्टी प्रवेशको लहर चलेको बताए । उनले भने, ‘एकातिर सूर्य अस्ताउँछ, अर्कोतिर तारा चम्कन्छ । अब आशा भरोसाको केन्द्र यही पार्टी हो ।’
जसपा नेपालको समूहसँगको सहमतिमा सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रमा संघर्षरत रहने उल्लेख छ । समाजवादका लागि नेपालको मौलिक विशेषता र संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, वर्गीय, क्षेत्रीय, जातीय र लैंगिक विभेदको अन्त्यका साथै समतामूलक न्यायपूर्ण, विभेदरहित समाजको निर्माण गर्ने उल्लेख छ ।
यस्तै, पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा संघीयतालाई आत्मसात् गर्दै जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिअनुसार सञ्चालन गर्ने, देशका उत्पीडित जातजाति, समुदाय, श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिँदै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि विशेष पहलकदमी लिने सहमति छ । जसपा, नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा उक्त समूहका केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, जनवर्गीय संगठन, क्षेत्र तथा पालिका तहका समितिहरूमा आबद्ध नेता तथा कार्यकर्तालाई आपसी सहमतिका आधारमा नेकपामा समायोजन गर्ने सहमति भएको छ ।यस्तै लिम्बुवान क्रान्तिकारीसँग लिम्बुवानको मुद्दालाई नेकपाको आन्तरिक जनवादमा छलफल र बहसमार्फत टुंगो लगाउने सहमति भएको छ । लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समितिलाई सम्मानका साथ उपयुक्त ढंगले समायोजन गर्ने सहमति भएको छ ।
नेकपा संयोजक प्रचण्ड भन्छन्–हामी १७ वटा पार्टी पुगिसकेका थियौँ । आज हामी दुइटा अलग–अलग समूहसँग पनि एकतामा गाँसिएका छौँ । पर्सि अझ ठुलो कार्यक्रम हुँदै छ । व्यक्तिगत हैसियतमा पनि एमाले परित्याग गरेर नेकपामा प्रवेश गर्ने लहर चलेको छ ।
नेकपा सहसंयोजक माधव नेपाल भन्छन्–बैठक र शपथग्रहण कार्यक्रम पनि हुनेछ । संगठनात्मक व्यवस्थापन गर्दै जाँदै छौँ । संगठनात्मक एकीकरण र चुनावको तयारीमा लाग्नुपर्ने आवश्यकता छ ।