कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता कार्यान्वयनको सन्दर्भमा कुनै पनि मोलाहिजा गर्ने छुट नरहेको प्रस्ट पारेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीका लागि गरिएको निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन्।
आचारसंहिताबारे दल, उम्मेदवार तथा दलका कार्यकर्ताहरूलाई आयोगले प्रशिक्षित गर्न जरुरी रहेको औँल्याउँदै उनले भने, ‘आचारसंहिता कार्यान्वयनको सन्दर्भमा कुनै पनि मोलाहिजा गर्ने, अनदेखा गर्ने छुट छैन। यसमा आयोगले शून्य सहनशीलता प्रयोग गर्छ र कडाइका साथ परिपालन गराउनुपर्छ।’
०७९ सालमा आचारसंहितामा केही दण्डात्मक व्यवस्था गरेकोमा अहिले आयोगले निर्वाचन कसुर सजाय ऐनअनुसारकै सजाय व्यवस्था गरेको प्रस्ट्याउँदै उनले भने, ‘यदि कसैले आचारसंहिता उल्लंघन गरेको प्रमाण भयो भने उम्मेदवारको मनोनयनपत्र खारेज गर्नेसम्मको अधिकार तपाईंहरूसँग हुन्छ।’