- दोस्रो सेमिफाइनलमा एटलेटिको म्याड्रिडविरुद्ध २–१ को जित निकाली रियल म्याड्रिडले बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको हो
४२औँ स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबिच भिडन्त हुने भएको छ । सुपर कपको दोस्रो सेमिफाइनलमा बिहीबार राति रियलले म्याड्रिड डर्बीमा एटलेटिकोलाई २–१ ले हराउँदै बार्सिलोनाविरुद्धको उपाधि भेट पक्का गरेको हो । फाइनल खेल आइतबार साउदी अरेबियामा हुनेछ । सन् २०२९ सम्म स्पेनिस सुपर साउदी अरेबियामै आयोजना हुने सम्झौता छ ।
सुपर कपको इतिहासमा बार्सिलोनाले सर्वाधिक १५ पटक उपाधि जितेको छ । रियल म्याड्रिडले १३ पटक उपाधि सुपर कप हात पारेको छ । धेरैपटक ट्रफी उचाल्नेमा बार्सिलोना र रियल म्याड्रिड नै हुन् । एथलेटिक बिल्बाओले तीन र एटलेटिको म्याड्रिडले दुईपटक उपाधि जितेका छन् । फाइनल स्थान सुरक्षित गरेपछि बार्सिलोना र रियल म्याड्रिडले थप बोनस रकम पाउने भएका छन् । रियल म्याड्रिडलाई फाइनल पुर्याउने क्रममा भाल्भेर्डे र रोड्रिगोले समान एक गोल गरेका थिए । एटलेटिकोबाट सार्लोथले एक गोल फर्काएका थिए ।
दोस्रो मिनेटमै रियलको अग्रता
बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा रियल म्याड्रिडले दोस्रो मिनेटमै अग्रता लिएको थियो । डी–बक्सअगाडि फेड्रिको भाल्भेर्डले उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । पहिलो हाफमा एटलेटिकोले गोल फर्काउने प्रयास गरेको थियो । तर, रियल म्याड्रिडको बलियो रक्षापंक्तिले मध्यान्तरअघि तोड्न सक्यो । खेलको ५५औँ मिनेटमा रियल म्याड्रिड २–० ले अघि रह्यो । यसपटक रोड्रिगोले दोस्रो गोल गरेका थिए ।
उरुग्वेका मिडफिल्डर भाल्भर्डेको पासमा रोड्रिगोले अग्रता दिलाएका हुन् । खेलको ५८औँ मिनेटमा एटलेटिकोका लागि सोर्लोथले २–१ का लागि गोल गरे । उनले डी–बक्सभित्र सटीक हेडिङ गोल गरी एटलेटिकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसपछि एटलेटिकोले थप गोल गर्न नसक्दा रियल म्याड्रिड फाइनलमा पुग्यो । बार्सिलोनाले भने बुधबार पहिलो सेमिफाइनल खेलमा एथलेटिक बिल्बाओलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
फाइनलमा ‘एल क्लासिको’को झल्को आउने
विश्व फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबिचको प्रतिस्पर्धा सधँै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने गर्छ । यी दुईबिच हुने खेललाई ‘एल क्लासिको’ भनिन्छ । स्पेनिस ला लिगा फुटबलमा यी दुई क्लबबिचको ‘एल क्लासिको’ खेल हेर्न समर्थक प्रतीक्षा गर्छन् । अब सुपर कपको फाइनलमा यिनै दुवै क्लब पुग्दा समर्थक रोमाञ्चित बनेका छन् । नयाँ वर्षको सुरुवातमै रियल म्याड्रिड र बार्सिलोनाबिचको खेल हुँदा समर्थक उत्साहित छन् । सबैभन्दा रमाइलो पक्ष दुवै क्लब अन्तिमसम्म जितका लागि लडिरहेका हुन्छन् । कुनै पनि क्षणमा हार उनीहरू स्विकार गर्न चाहँदैनन् । स्पेनिस ला लिगामा अहिले बार्सिलोना शीर्ष स्थानमा छ । रियल म्याड्रिड भने बार्सिलोनालाई शीर्ष स्थानमा पछ्याइरहेको छ । ला लिगामा बार्सिलोनाले १९ खेलबाट ४९ अंक बटुलेको छ । रियल म्याड्रिडले समान खेलबाट ४५ अंक जोडेको छ । बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।