माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश निर्वाचन कार्यालयमै राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय राखिएको हो। कार्यालयको जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत गीता श्रेष्ठले उद्घाटन गरेकी हुन्।
बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले कार्यालय स्थापना भएसँगै राष्ट्रिय सभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको बताए।उनका अनुसार बागमती प्रदेशमा दुईजना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। तीमध्ये एकजना महिला र एकजना अन्य समूहबाट निर्वाचित हुनेछन् ।प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेश सभाका ११० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जना गरी कुल ३४८ जना मतदाता रहेका छन्। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ।
मतभारको हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार चार हजार ५२२ र प्रदेश सभा सदस्यको मतभार पाँच हजार ८३० गरी जम्मा १० हजार ३५२ मतभार रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ। विद्यालयमा दुईवटा मतदान केन्द्र रहनेछन् । ‘बी’ ब्लकमा मतदान हुनेछ भने प्राविधिक भवनमा मतगणना गरिनेछ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूले मतदानस्थलको निरीक्षणसमेत गरेका छन्। निर्वाचनका लागि प्रतिमतदान केन्द्र आठजनाको दरले १६ जना कर्मचारी खटाइने प्रदेश निर्वाचन कार्यालयका प्रमुख ढकालले जानकारी दिए।
मतदान प्रक्रियाअनुसार प्रदेश सभा सदस्यले सेतो कागजमा हरियो रङको मसीले विवरण तथा चिह्न उल्लेख गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसीले मतदान गर्नेछन्। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन ११ बजेदेखि पुस २० गते अपराह्न ४ बजेसम्म दाबी–विरोधका उजुरी दिन सकिनेछ । पुस २१ र २२ गते उजुरीमाथि छानबिन हुनेछ भने पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता तथा सोही दिन दिउँसो ३ देखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ।
यस्तै, पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी, पुस २५ र २६ गते उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ, पुस २६ गते दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन, पुस २७ गते नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ। हाल बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसालको पदावधि ०८२ फागुनमा सकिँदै छ । सो पद रिक्त हुन लागेकाले बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको हो ।