- गोकर्ण गल्फ क्लबमा राहुलले ६ अन्डर ६६ को उत्कृष्ट स्कोरका साथ प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई पाँच स्ट्रोकले पछि पारे
साविक विजेता राहुल विश्वकर्माले पाँच स्ट्रोकको अग्रता लिँदै सोमबारदेखि सुरु भएको सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको शीर्ष स्थान बलियो बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा राहुलले ६ अन्डर ६६ को उत्कृष्ट स्कोरमा प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन् । जयराम १ अन्डर ७१ को स्कोरका साथ दोस्रो स्थानमा छन् ।
अर्का एमेच्योर साम डौबलार्ड इभन पार ७२ सहित तेस्रो स्थानमा रहे । १ ओभर ७३ को स्कोरमा भुवनकुमार रोक्का, सबिन सापकोटा, भुवन नगरकोटी, दिनेश प्रजापति, प्रदीपकुमार लामा र एमेच्योर फुन्सो नोर्बु लामाले संयुक्त रूपमा चौथो स्थान बाँडेका छन् ।
उत्कृष्ट स्कोर कार्ड निकाल्ने क्रममा राहुलले फ्रन्ट र ब्याक नाइनमा समान ३ अन्डर ३३ को स्कोर गरेका थिए । उनले दोस्रो, तेस्रो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गरे । राहुलले १०औँ, १२औँ र १५औँ होलमा पनि बर्डी निकाल्न सफल भए ।
प्रोफेसनल खेलाडी जयरामले दिनको सुरुवातमा बोगी सामना गरेका थिए । उनले सातौँ र आठौँ होलमा बर्डी निकाली फ्रन्ट नाइन १ अन्डर ३५ को स्कोर गरे । जयरामले १४औँ होलमा डबल बोगी र १६ औँ होलमा पनि एक बोगी खेपेका थिए ।
जसका कारण उनले ब्याक नाइन इभन पार खेल्दै ३६ स्कोर गरे । एमेच्योर सामले तेस्रो र नवौँ होलमा बर्डी प्रहार गरे पनि सातौँ होलमा बोगी सामना गर्नपुगे । उनले फ्रन्ट नाइनमा १ ओभर ३७ स्कोर गरे ।