गत २३ र २४ भदौको जेन–जी आन्दोलनपछि गिरेको मनोबल उकास्न ‘हाम्रो प्रहरी’ अभियान सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार वसन्तपुर डबलीबाट सुरु गरेको अभियानको उद्देश्य प्रहरीको मनोबल उठाउने मात्रै होइन, नागरिकमा प्रहरीप्रति सद्भाव जगाउनु पनि रहेको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार साँझ वसन्तपुरमा आयोजना गरेको ‘कन्सर्ट’मा प्रहरी कलाकारसहित कुमः सागरदेखि एलिस राईसम्मले प्रस्तुति दिए ।
परिसर प्रमुख एसएसी रमेश थापाले जेन–जी आन्दोलनका क्रममा गिरेको प्रहरीको मनोबल उकास्न र जेन–जीमा प्रहरीप्रति सद्भाव जगाउन अभियान सुरु गरिएको बताए । ‘जेन–जी आन्दोलनमा सबैभन्दा ठुलो धक्का जिल्ला प्रहरी परिसर काठमाडौंले व्यहोर्नुपर्यो । हाम्रा तीन सुरक्षाकर्मीले ज्यान गुमाए । प्रहरीको बर्दी उतारी नांगै सडकमा मार्च गर्न लगाइयो ।
भौतिक संरचना ध्वस्त पारिए । घटनाले प्रहरीको मनोबलमा गम्भीर आघात पु¥याइदियो । गिरेको यही मनोबल उठाउने र जेन–जीसहितका पुस्तामा प्रहरीप्रति सद्भाव जगाउन यो अभियान सुरु गरिएको हो,’ उनले भने । आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असइ मिलन राय र जवान उत्तम थापा, प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार अमृत गुरुङमाथि आक्रमण गरी ज्यान लिइयो । मातहतका ९७ प्रहरी कार्यालय ध्वस्त पारिएका थिए ।