बिरामीको इच्छाविपरीत महँगा अस्पतालमा नलैजान एम्बुलेन्सचालकलाई सरकारको आग्रह

एम्बुलेन्सचालक प्रयोग गरी बिरामीलाई जबर्जस्ती महँगा अस्पतालमा लगेको भेटिए कारबाहीको चेतावनी

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सचालकलाई बिरामीको इच्छाविपरीत निजी तथा महँगा अस्पतालमा नलैजान आग्रह गरेको छ । चालकले एम्बुलेन्सको दुरुपयोग गरेर बिरामीलाई निजी र महँगा अस्पतालमा लैजाने गरेको पाइएपछि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बिरामीको इच्छाविपरीत निजी तथा महँगा अस्पतालमा नलैजान आग्रह गरेको हो ।

मन्त्रालयले बिरामीको इच्छाविपरीत महँगा अस्पताल लगेको भेटिएमा चालकलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय केही उजुरीसमेत परेका छन् । कतिपय बिरामीले सरकारी अस्पतालमा लैजान भने पनि एम्बुलेन्सचालकहरूले जबर्जस्ती निजी अस्पतालमा लैजाने गरेको गुनासो गर्दै आएका छन् । ‘हाल एम्बुलेन्स निर्देशिकाविपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सहरूले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्र्रको निर्देशनविना निजी तथा महँगा अस्पतालमा लैजाने गरेको भन्ने गुनासाहरू यस मन्त्रालयमा प्राप्त भएका छन्,’ मन्त्रालयको सूचनामा भनिएको छ, ‘अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दु:खद कार्य हो ।’

मन्त्रालयले बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सको दुरुपयोग नगर्न पनि निर्देशन दिएको छ । मन्त्रालयले बुधबार माहतहका सबै कार्यालयलाई एम्बुलेन्सको निगरानी बढाउन पनि निर्देशन दिएको छ । ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ विपरीत कुनै पनि लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइले मातहतका कार्यालयलाई बुधबार नै पत्राचारसमेत गरेको छ । 

‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन यस मन्त्रालयबाट एम्बुलेन्स सेवा निर्देशिका, २०८२ जारी गरिएको छ, निर्देशिकाअनुसार सम्पूर्ण एम्बुलेन्स सेवाहरू प्रेषण केन्द्रमा आबद्ध भई सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ । मन्त्रालयले यस सम्बन्धमा सम्पूर्ण एम्बुलेन्सचालकहरूलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रूपमा लैजानसमेत आग्रह गरेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक ठाउँबाट रिफर गरेकालाई योभन्दा त्यो अस्पताल राम्रो छ भनेर एम्बुलेन्सचालकले निजीमा लैजाने गरेको बताए । ‘हामीकहाँ कतिपय बिरामीले एम्बुलेन्सचालकले ठगेको, बढी भाडा लिएको, एउटा अस्पतालमा रिफर गरिएकोलाई अर्कैमा लैजाने गरेको भनेर गुनासा आइरहेका छन्, यसमा हामीले गम्भीर रूपमा कारबाही गर्छौँ,’ उनले भने । 

सुझावित समाचार