गृहमन्त्री ओमप्रकाश अर्यालले आवधिक निर्वाचन नै सुशासनको आधार भएको बताएका छन् । बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्न नहुने बताए ।
मन्त्री अर्यालले सुशासन दिन सकिएन भने विद्रोहको अवस्था सिर्जना हुने रहेछ भनेर अब पनि द्वन्द्वको अवस्था सिर्जना हुन नदिन हामीले नयाँ पुस्ता र उनीहरूका जायज माग सम्बोधन वेलैमा गरिनुपर्ने बताए । ‘नवपुस्तालाई केही राजनीतिक दलहरूले हाल आएर राजनीतिको प्रमुख पदहरूमा आबद्ध गराएको देख्दा सरकारलाई खुसी लागेको छ,’ उनले भने, ‘निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ ।’
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको उनको भनाइ थियो । ‘निर्वाचनविना सुशासन कायम गर्न कठिन हुने र देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’
पुस ७ गते प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय छलफलबाट आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै मितिमा सम्पन्न गर्ने गरी साझा प्रतिबद्धता जाहेर भएको व्यहोरासमेत मन्त्री अर्यालले कार्यक्रममा स्मरण गराए ।