- तेस्रोपटक समय सारेर साँझ ७ बजेबाट मतदानको तालिका थियो, त्यसैअनुसार प्रतिनिधि दुई घण्टादेखि लाइनमा बसेका थिए, तर अन्तिम समयमा मेसिनको प्राविधिक समस्या र चिसो मौसमको कारण देखाएर अध्यक्षका उम्मेदवार केपी ओली र ईश्वर पोखरेलले सहमतिमै गरे मतदान प्रक्रिया स्थगित
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको मतदान प्रक्रिया बुधबार बिहान ८ बजेबाट मात्र हुने भएको छ । मंगलबार बिहान ११ बजेदेखि सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिकाअनुसारको मतदान चौथोपटक सारिँदै बुधबार बिहान ८ बजे पुर्याइएको छ । २९ मंसिरसम्म तय भएको महाधिवेशन कम्तीमा दुई दिन धकेलिएको छ ।
अध्यक्षका उम्मेदवार केपी ओली र ईश्वर पोखरेलले मतदान मेसिनमा देखिएको प्राविधिक समस्या तथा चिसो मौसम मध्यनजर गर्दै आपसी परामर्शमा मतदान प्रक्रिया स्थगित गर्ने सहमति गरेका हुन् । महासचिव शंकर पोखरेलका अनुसार मंगलबार साँझ ७ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्राविधिक समस्याका कारण समयमै सुरु हुन सकेन ।
‘मेसिनमा देखिएको प्राविधिक समस्या समाधान नभएसम्म चिसो मौसमका कारण राति प्रतीक्षा गरिरहने अवस्था रहेन । त्यसैले बुधबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने गरी स्थगित गरिएको हो,’ ओली, पोखरेललगायत पदाधिकारी सहभागी मञ्चबाट महासचिव पोखरेलले भने ।
सचिव पदका उम्मेदवार विनोद ढकालले पनि अन्य कुनै कारण नभई मतदान मेसिनको सर्भरमा देखिएको प्राविधिक समस्याका कारण प्रतिस्पर्धी नेताहरूको समझदारीमा मतदान सरेको स्पष्ट पारे । ‘६ सयभन्दा बढी उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरी फोटोसमेत राख्न १५–१६ घण्टा लाग्ने अनुमान थियो । तयारीकै क्रममा साँझसम्म पनि प्राविधिक समस्या देखिएकाले प्रतीक्षा गरिरहने अवस्था नभएपछि मतदान सारिएको हो,’ उनले भने ।
मंगलबार बिहान ११ बजेबाट मतदान गर्ने कार्यतालिका रहे पनि पहिलोपटक दिउँसो १२ बजे, दोस्रोपटक साँझ ५ बजे, तेस्रोपटक साँझ ७ बजे र अन्तत: बुधबार बिहान ८ बजेका लागि चौथोपटक सारिएको हो । नेताहरूका अनुसार ६ सयभन्दा बढी उम्मेदवारको विवरण र फोटो मेसिनमा प्रविष्ट गर्न १५ घण्टाभन्दा बढी समय लागेको र मेसिन पूर्ण रूपमा चुस्त रहेको परीक्षणपछि मात्र मतदान सुरु गर्नुपर्ने भएकाले ढिलाइ भएको हो ।
बुधबार नेपाल कम्युनिस्ट पार्टीले कार्यक्रमका लागि भृकुटीमण्डपको सभाहल बुक गरेकाले एमाले रातभरि नै भए पनि मतदान गराउनुपर्ने दबाबमा परेको थियो । तर, हाल बन्दसत्र सञ्चालन भइरहेको हल सो पार्टीलाई छोडेर खानाको तयारी गरिएको प्रदर्शनीस्थलको ठुलो हलमा मतदान गराउने तयारी एमाले निर्वाचन आयोगले गरेको छ ।
मतदान स्थगित हुनुअघि प्रतिनिधिहरू मतदानका लागि दुई घण्टाअघिदेखि लाइनमा बसेका थिए । स्थगनसँगै प्रतिनिधि तथा उम्मेदवारहरू आ–आफ्नो वासस्थान फर्किएका छन् । यसबिच प्रतिस्पर्धी उम्मेदवारलाई जितका लागि आवश्यक तयारी र प्रतिनिधिलाई मनाउन थप समयसमेत उपलब्ध भएको छ । अध्यक्ष पदका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् ।
यसरी फर्किए प्रदीप ज्ञवाली
अध्यक्ष केपी ओलीले शंकर पोखरेललाई दोस्रोपटक महासचिवमा दोहोर्याउने निर्णय गरेपछि असन्तुष्ट बनेका उपमहासचिव प्रदीप ज्ञवाली अन्तत: अध्यक्षसहितको टिमलाई जिताउन सक्रिय बनेका छन् । पोखरेललाई महासचिवमै दोहोर्याएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका थिए । त्यसलगत्तै, उनी सोमबार घर गएका थिए । ओलीले उनलाई उपाध्यक्षमा उम्मेदवारी दिन आग्रह गरेका थिए । यसमा उनलाई महासचिवका अर्का आकांक्षी पृथ्वीसुब्बा गुरुङदेखि उपाध्यक्ष विष्णु पौडेलसम्मको समर्थन थियो ।
तर, महाधिवेशनस्थलको बन्दसत्र हलबाट साँझ बाहिरिएका ज्ञवाली बेलुकी अध्यक्ष ओलीसँगको टेलिफोन संवादपछि असहमति राख्दै पनि टिमलाई जिताउन सहमत भएका थिए । ओलीसँगको संवाद र टिमभित्रकै नेताहरूको दबाबमा परेका ज्ञवालीले अन्तत: मंगलबार बिहान लामै स्टाटस लेखेर ओलीलाई जिताउने प्रतिबद्धता मात्र जनाएनन् । फिल्डमै पुगेर महासचिवका उम्मेदवार पोखरेललाई मत मागे । केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएर असन्तुष्टि पोखेका ज्ञवालीप्रति महाधिवेशन प्रतिनिधिले सहानुभूति जनाएका थिए । तर, बिहानै अडान परिवर्तन गरेपछि उनका कतिपय समर्थकले भने उनको निर्णयको आलोचना पनि गरेका छन् ।
केपीको लिस्टमा ईश्वर–सुरेन्द्र आउट, ईश्वरकोमा केपी इन
मतदान सजिलो बनाउन अध्यक्षका उम्मेदवार केपी ओली र ईश्वर पोखरेल समूह दुवैले मंगलबार दिउँसो १२ बजेतिरैबाट आ–आफ्नो प्यानलको सूची बाँडेका थिए । तर, ओली पक्षले बाँडेको लिस्टमा अध्यक्षका उम्मेदवार पोखरेलसहित उनी पक्षधर पदाधिकारीलाई खुलातर्फको केन्द्रीय सदस्यमा समेत समेटिएन ।
तर, यसको ठिकविपरीत पोखरेल पक्षले भने ओली प्यानलमा रहेका महासचिव शंकर पोखरेल, उपमहसचिव विष्णु रिमाल, सचिवका उम्मेदवारहरू भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराईबाहेक धेरैको नाम सूचीमा राखेको छ । त्यस्तै, पूर्वमाओवादीको प्रतिनिधित्व गर्ने रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टको नाम पनि समेटेको थियो । त्यस्तै, केन्द्रीय सदस्यमा पनि तीन दर्जनभन्दा बढी ओलीको सूचीमा रहेकालाई पोखरेल पक्षले समेटेको छ ।
पहिले ओलीनिकट रहेका आनन्दप्रसाद पोखरेललाई पोखरेल प्यानलले उपमहासचिवको उम्मेदवार बनाएको छ । त्यस्तै, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठहरू पनि पोखरेलकै प्यानलबाट उम्मेदवार बनेका छन् । ओलीको प्यानलमा नपरेकालाई सूचीमा समेट्ने र ओली प्यानलमै परेकालाई पनि राखेर मत चोरेर जित्ने रणनीतिअन्तर्गत त्यस्तो गरिएको पोखरेलपक्षीय नेताहरूको भनाइ छ । तर, ओली पक्षले भने पोखरेल पक्षको कमजोर पोजिसनका कारण भ्रम सिर्जना गर्ने प्रयास मात्र गरेको आरोप लगाएको छ ।