मासिक पाँच करोड खर्चेर पेट्रोल ढुवानी प्रकरण : उद्योग मन्त्रालयसँग अख्तियारले माग्यो छानबिन प्रतिवेदन

पाइपलाइन बिछ्याएको ठाउँमै महिनामा पाँच करोड रुपैयाँसम्म ढुवानी भाडा खर्चिनु संस्थागत हानि–नोक्सानी भएको प्रारम्भिक ठहर

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

पेट्रोलियम पाइपलाइन पूर्ण क्षमतामा चल्न सक्ने अवस्था हुँदाहुँदै पनि नेपाल आयल निगमले कमिसनको लोभमा भारतबाट ट्यांकरमार्फत पेट्रोल ढुवानी गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागीय मन्त्रालयसँग छानबिन प्रतिवेदन मागेको छ । ढुवानीका नाममा मासिक करिब पाँच करोड रुपैयाँ अनावश्यक खर्च गरेको आरोपमा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई छानबिन प्रतिवेदन उपलब्ध गराउन लिखित पत्र पठाएको हो । 

आयोगले एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दियो । ‘पाइपलाइन बिछ्याएको ठाउँमै महिनामा पाँच करोड रुपैयाँसम्म ढुवानी भाडा खर्चिनु संस्थागत हानि–नोक्सानी भएको प्रारम्भिक ठहर भएको छ,’ स्रोतले भन्यो, ‘यही कारण यो विषयमा विस्तृत छानबिन अघि बढाइएको हो । तालुकवाला मन्त्रालयलाई पनि के–कसो भएको हो भनेर अनुसन्धान प्रतिवेदन पठाउन लिखित पत्राचार गरेका छौँ ।’

अख्तियारको पत्रपछि मन्त्रालयले पनि छुट्टै छानबिन समिति गठन गरी आयल निगमबाट आवश्यक कागजात मागिसकेको छ । ‘अख्तियारको पत्राचारअनुसार छानबिन भइरहेको छ, चाँडै प्रतिवेदन बुझाइन्छ,’ मन्त्रालय स्रोतले भन्यो । आयोगका अधिकारीहरू अहिले मन्त्रालयको प्रतिवेदन पर्खिरहेका छन् । मन्त्रालयबाट के–कस्तो पत्र आउँछ, त्यसपछि हाम्रो गाइडलाइन तय हुनेछ,’ आयोग स्रोतले भन्यो । 

अख्तियारले छानबिन थालेसँगै आयल निगमले अमलेखगन्जका लागि पेट्रोल ल्याउन बरौनीमा ट्यांकर पठाउन रोकिएको छ । यसअघि अमलेखगन्ज डिपोमार्फत बरौनी रिफाइनरीबाट दैनिक २०–२२ ट्यांकरमा पेट्रोल ढुवानी भइरहेको थियो । भारतबाट पेट्रोल ल्याउन १०४ ट्यांकर पालैपालो प्रयोग हुँदै आएका थिए ।

अमलेखगन्जमा पाइपलाइनबाट पेट्रोल ल्याउँदा ढुवानीमा खर्च शून्य हुने भए पनि निगमका उच्च अधिकारी, ट्यांकर व्यवसायी र चालकको मिलेमतोमा झन्डै एक वर्षसम्म मासिक पाँच करोड खर्चेर ढुवानी गराइएको आरोप छ । यसअनुसार करिब ६० करोड रुपैयाँ ढुवानी भाडा शीर्षकमा खर्च भइसकेको छ र यही आधारमा अख्तियारले छानबिनलाई तीव्र बनाएको छ ।

निगमले हाल पेट्रोल ढुवानीका लागि प्रयोग गरिएका १०४ ट्यांकरलाई विभिन्न डिपोमा हवाई इन्धन ढुवानीमा प्रयोग गर्ने निर्णय गरेको छ । तर, पछाडिको ट्यांकी परिवर्तन गर्न चार–पाँच लाख रुपैयाँ खर्च लाग्ने भन्दै ट्यांकर व्यवसायी र चालकहरूले असहमति जनाएका छन् । उनीहरूले डिजेल र मट्टीतेल ढुवानीका लागि वैकल्पिक रुट व्यवस्था मिलाउन माग गर्दै विज्ञप्ति पनि निकालेका छन् ।

यस्तो छ प्रकरण
भारतको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टीतेल आउने अमलेखगन्ज डिपोबाट देशभरको करिब ७० प्रतिशत इन्धन आपूर्ति हुन्छ । यही डिपोबाट काठमाडौं, पोखरा, विराटनगर र भैरहवासम्म पाइपमार्फत इन्धन पुर्याइन्छ । तर, आफ्नो क्षेत्राधिकारभित्रका पम्पलाई समेत पाइपबाट आएको तेल नदिई ट्यांकरमार्फत ढुवानी गरिँदा मासिक पाँच करोडसम्म खर्च हुने गरेको छ । यति ठुलो रकम खर्चेर पेट्रोल ढुवानी गर्दा कमिसनमार्फत उच्च अधिकारी लाभान्वित भएको भन्दै उजुरी परेपछि अख्तियारले विस्तृत छानबिन थालेको हो । 
 

सुझावित समाचार