यमन पुन: विभाजनको सँघारमा

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण
  • एसटिसीले सन् १९९० अघि दक्षिणी यमनमा पर्ने सबै भूमि नियन्त्रणमा लिएको छ भने उत्तरी भाग सिया मिलिसिया हुथीको कब्जामा छ

दक्षिण यमनको सम्पूर्ण भूभाग संयुक्त अरब इमिरेट्स (युएई) समर्थित सैन्य समूहले कब्जा गरेसँगै सो देश पुन: टुक्रिने जोखिम बढेको छ । सन् १९९० मेमा एक हुनुअघि यमन उत्तर र दक्षिण नाममा दुई देश थिए । साउदर्न ट्रान्जिस्नल काउन्सिल (एसटिसी) ले सन् १९९० अघिको दक्षिणी यमनमा पर्ने सबै भूमि नियन्त्रणमा लिएको हो । उत्तरी भाग भने सिया मिलिसिया हुथीको कब्जामा छ । 

एसटिसीको १० हजारभन्दा बढी सेनाले गत हप्ता मात्र तेल उत्पादन हुने हद्रामौत गभर्नरेट र लगत्तै ओमानसँग सिमाना जोडिएको गभर्नरेट मारा कब्जामा लिएका थिए । एसटिसीको जितसँगै विगतमा दक्षिण यमनका सबै आठ गभर्नरेट एउटै समूहको नियन्त्रणमा आएका छन् । ओमानले आफ्नो सीमानाकामा दक्षिण यमनको झन्डा फहराएकोमा विरोध गर्दै सीमा नै बन्द गरेको थियो । तर, ऊ सो मागबाट पछि हट्नुपर्यो । 

एक दशकअघिसम्म यमनको मुख्य बाह्य शक्ति रहेको साउदी अरबले समेत पछिल्लो विकासक्रम स्विकारेजस्तो देखिन्छ । रियादले दक्षिणी भेगको राजधानी एडेनका विमानस्थललगायत प्रमुख रणनीतिक क्षेत्रमा तैनाथ गरेका आफ्ना सेना फिर्ता बोलाएको छ । यमनमा संयुक्त राष्ट्र संघले मान्यता दिएको सरकारको सुरक्षामा साउदी सेना खटिएका थिए । 

जितका बाबजुद एटिसीले तत्काल अलग देश घोषणा नगर्न सक्छ, विशेषत: न्यून वैदेशिक मान्यताको डरमा । यसैले सो समूहले मध्यम अवधिमा उत्तरबाट स्वतन्त्रता हुन कुनै प्रकारको जनमत संग्रह गर्न सक्ने आकलन भइरहेको छ । र, यसको भविष्य मुख्यत: समूहको प्रमुख प्रायोजक युएईले लिने निर्णयमा निर्भर हुन सक्छ । 

सन् २०१५ देखि उत्तर यमनको राजधानी सानालाई हुथी विद्रोहीले नियन्त्रणमा राखेका छन् । त्यस वेलादेखि नै दक्षिणमा असहज राजनीतिक गठबन्धन कायम छ । गठबन्धनमा यमनका राष्ट्रपतिसमेत रहेका रसाद अल–अलिमी नेतृत्वको इसाह पार्टी र ऐदारस अल–जुबैदीको नेतृत्वमा रहेको युएईसमर्थित एसटिसी समावेश थिए । 

एसटिसीको सैन्य विजयपछि राष्ट्रपति अलिमी रिहादको शरणमा पुगेका छन् । त्यहीँबाट उनले एसटिसीलाई ब्यारेक फर्किन आह्वान गर्दै भने, ‘हामी राज्यको कानुनी स्थितिलाई कमजोर पार्ने र समानान्तर वास्तविकता सिर्जना गर्ने कुनै पनि एकपक्षीय कदमलाई अस्वीकार गर्छौं ।’ 

उता, पश्चिमी कूटनीतिज्ञ र संयुक्त राष्ट्र संघले भने सधैँ यमनको विभाजनको विरोध गर्ने गरेका छन् । बरु, तिनले हुथीहरू र दक्षिणी भेगका सेनालाई मिलाएर एक संघीय सरकार बनाउने रोडम्यापमाथि जोड दिने गरेका छन् । पछिल्लो विकासक्रमपछि अहिलेसम्म अमेरिकासहित कुनै पनि पश्चिमी देशले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । 

‘पछिल्लो घटनाक्रम यमनका लागि सन् २०१५ मा राजधानी साना हुथीको हातमा गएपछिकै सम्भवत: सबैभन्दा ठुलो मोड हो । यसले क्षेत्रीय र स्थानीय गठबन्धनलाई उल्ट्याउने क्षमता राख्छ । यही कारण साउदी अरब र युएईबिच तनाव बढ्न सक्छ । यदि एसटिसी वार्ताको टेबलमा बस्न तयार भयो भने दक्षिणी भेग समेटिएको कुनै प्रकारको स्वशासनसम्बन्धी उसको माग बलियो हुनेछ । उता सीमा जोडिएका साउदीलाई भने सिमानाको गस्ती बढाउनुपर्ने चिन्ता थपिनेछ,’ साना सेन्टर अफ स्टडिजका शीर्ष विश्लेषक मेसा सुजा अल–डिनले भने । 

साउदीले सुडानको गृहयुद्ध अन्त्य गर्न डोनाल्ड ट्रम्पलाई हस्तक्षेप गर्न अनुरोध गरेबाट क्रुद्ध बनेपछि युएईले एसटिसीलाई सैन्य कारबाही सुरु गर्ने अनुमति दिएको विश्वास गरिन्छ । सुडानमा पनि साउदी र युएईले फरक–फरक समूहलाई समर्थन जनाएका छ्न् । सुडान संकटमा युएईले अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्सेस (आरएफएफ)’लाई समर्थन गरिरहेको छ भने साउदीले राष्ट्रिय सेनालाई । 

द गार्जियनबाट

See More On

सुझावित समाचार