शिक्षामन्त्री पुनलाई त्रिविका समस्याबारे आउँछन् दैनिक औसत चार सय गुनासा

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

सर्टिफिकेट लिन कठिन भएको, लामो लाइन लाग्नुपरेको, परीक्षा बोर्डले त्रुटि नसच्याइदिएको, कर्मचारीले दुर्व्यवहार गरेको, समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगरेको, परीक्षा बोर्डले सर्टिफिकेट निकाल्दा दु:ख दिएकोजस्ता गुनासा

सोमबार मात्रै शिक्षामन्त्री महावीर पुनलाई त्रिवि र परीक्षासँग सम्बन्धित दुई सयहाराहारी फोन आएको उनको सचिवालयले जनाएको छ । गुनासा सम्बोधन गर्न मन्त्री पुनले त्रिवि, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिने गरे पनि सुधार नभएको स्वकीय सचिव डा. सागर ढकालले बताए । ‘मन्त्रीज्यूले सुधार गर्ने कोसिस त गरिराख्नुभएको छ, तर फोन र भेटेर गुनासा टिपाउनेहरूको संख्या थेगिनसक्नु छ, कता–कता मात्रै हेर्ने हो उहाँलाई पनि कठिन छ,’ उनले भने ।

शिक्षामन्त्री महावीर पुनलाई त्रिविका समस्याबारे गुनासोका ओइरो नै लाग्ने गरेको छ । मन्त्री पुनको सचिवालयका अनुसार भेटेर, फोन र म्यासेजमार्फत दैनिक औसत चार सय गुनासा आउने गरेका छन् । 

पुनका स्वकीय सचिव डा. सागर ढकालका अनुसार अधिकांश गुनासा विद्यार्थीबाट आउने गरेका छन् । यसबाहेक शिक्षक सरुवासम्बन्धी गुनासा धेरै आउने उनको भनाइ छ । त्रिविमा सर्टिफिकेट लिन कठिन भएको, लामो लाइन लाग्नुपरेको, राष्ट्रिय परीक्षा बोर्डले त्रुटि नसच्याइदिएको, कर्मचारीले दुर्व्यवहार गरेको, परीक्षा नियन्त्रण कार्यालयले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगरेको, परीक्षा बोर्डले सर्टिफिकेट निकाल्दा दु:ख दिएकोजस्ता गुनासा बढी आउने गरेका छन् । 

सोमबार पनि पुनलाई त्रिवि र परीक्षासँग सम्बन्धित दुई सय हाराहारी फोन आएका थिए । गुनासा सम्बोधन गर्न मन्त्री पुनले त्रिवि, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिने गरे पनि सुधार नभएको स्वकीय सचिव ढकालले बताए । 

‘मन्त्रीज्यूले सुधार गर्ने कोसिस त गरिराख्नुभएको छ, तर फोन र भेटेर गुनासा टिपाउनेहरूको संख्या थेगिनसक्नु छ, कता–कता मात्रै हेर्ने हो उहाँलाई पनि कठिन छ,’ स्वकीय सचिव डा. ढकालले भने, ‘उहाँबाट सुधारको अपेक्षा राखेर फोन आउनु वा भेटेर गुनासो गर्नु राम्रो हो । किनभने उहाँले सकेसम्म सुधार गर्न खोज्नुभएको छ, तर पटक–पटक भन्दा पनि कतिपय कुरा सुधार नहुनु दु:खद हो ।’ 

मन्त्री पुनले आफू मन्त्री भएलगत्तै समयमा परीक्षा सञ्चालन नगर्ने र नतिजा प्रकाशन नगर्ने क्याम्पसहरूको अनुदान रोकिने, कारबाही गरिनेलगायत चेतावनी दिएका थिए । उनले त्रिविको नतिजा तीन महिनाभित्रै प्रकाशन गर्न निर्देशनसमेत दिइसकेका छन् । तर, कार्यान्वयन नभएपछि मन्त्रीलाई विद्यार्थीको गुनासो आउनेक्रम बढेको हो । गुनासा बढेपछि मन्त्री पुनले परीक्षा नियन्त्रक कार्यालय, परीक्षा बोर्ड र त्रिविका डिनहरूलाई फोन गरेर सेवा सहज पार्न निर्देशन दिएका छन् । 

शिक्षक सरुवामा समेत उस्तै दबाब 
शिक्षामन्त्री पुनलाई शिक्षक सरुवासम्बन्धी विषय लिएर पनि उत्तिकै फोन आउने गरेको छ । दैनिक ५० जति फोन शिक्षक सरुवाका लागि आउने गरेको उनको सचिवालयले जनायो । तर, शिक्षक सरुवाको मुद्दा हाल सर्वोच्च अदालतसम्म पुगेकाले त्यसको छिनोफानो नभएसम्म आफूले हात नहाल्ने जवाफ पुनले दिने गरेका छन् । 

‘सरुवा हुनुपर्‍यो, यस्तो समस्या भयो, उस्तो समस्या भयो भनेर फोन आउँछन्, कतिपय त त्यही कामका लागि टाढाटाढाबाट मन्त्रीज्यूलाई भेट्न आउनुहुन्छ । कतिपयलाई विगतमा अन्याय गरेर पोस्टिङ वा सरुवा गरिएको थियो पनि होला, कतिपय फाइदाका लागि सरुवा हुन खोज्नुभएको हो,’ स्वकीय सचिव ढकालले भने, ‘तर, अहिले मन्त्रीज्यूले सरुवामा हात हाल्नुभएको छैन ।’

सेमेस्टर प्रणालीको नतिजा सुधार्नसमेत कठिन 
त्रिवि ऐन र नियमावलीअनुसार सेमेस्टर प्रणालीको परीक्षाफल प्रकाशन ४५ दिनभित्र गर्नुपर्छ । तर, त्रिविका अधिकांश संकायको परीक्षाफल समयमै प्रकाशन हुँदैन । नतिजा प्रकाशनमा तीन महिनादेखि ६ महिनासम्म लाग्ने गरेको छ । मन्त्री पुनको सचिवालयले त्रिविलाई नियमावलीमा उल्लेख गरिएअनुसार ४५ दिनभित्र सेमेस्टर प्रणालीको नतिजा प्रकाशन गर्न पटक–पटक निर्देशन दिइसकेको छ । तर, त्यसमा सुधार नभएको मन्त्रालयले नै जनाएको छ । 

‘नियमावलीमै सेमेस्टर प्रणालीको परीक्षा ४५ दिनभित्र निकाल्नुपर्छ भनेर उल्लेख रहेछ, तर त्रिविले आजसम्म त्यति पनि पालना गरेको रहेनछ, ४५ दिनमा प्रकाशन गर्नुपर्ने नतिजा सात महिनासम्म पुर्‍याउने रहेछ,’ ढकालले भने, ‘मन्त्री पुन आएपछि धेरैपटक निर्देशन दिए पनि सुधार हुने छाँट देखिएको छैन । कानुन भएर के गर्नु पालना नगरिदिएपछि !’ 

सुझावित समाचार