कविता : कन्सन्ट्रेसन क्याम्प

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

मेरो टोलमा हरेक बिहान एक हुल बचेरा
कन्सन्ट्रेसन क्याम्पतिर जान्छन् ! 
म आफ्नै अतीतलाई सम्झन्छु 
तर्सन्छु,
कुन क्षणमा आएपछि एउटा बालक
सबै रहर त्यागेर
हरेक दिन ठ्याक्कै उही समयमा
स्कुल जान तयार हुन्छ ?

आफ्नै साइजको ब्याग बोकेर 
रुँदै किन्डर गार्डेन जाने बचेरा 
कुन क्षणमा पुगेर
हरेक बिहान निद्रा मारेर ब्युँझन्छ ?
लगाउँछ कन्सन्ट्रेसन क्याम्पको
युनिफर्म, टाई र कालो जुत्ता
भिर्छ ब्याग
सुरुमा रुँदो हो
अनेक बहाना गर्दो हो ।
कुन घडीमा आएर उसलाई लाग्छ 
मेरो आँसुको अर्थ छैन,
मेरो सकस सुनुवाइ हुँदैन ! 
हरेक दिन फर्किएर फेरि कन्सन्ट्रेसन क्याम्प 
बस्छ होमवर्क गर्न
पट्यारलाग्दो क्लासरुम 
सैनिकजस्ता शिक्षक 
ब्रोइलर चल्लाजस्ता साथी
सबैलाई स्विकारेर
कुन पलमा उसले सरेन्डर गर्छ 
‘नाइँ’ 
‘जान्नँ’ 
‘मन पर्दैन’
‘आज अल्छी लागेको छ’
‘आज अबेरसम्म सुत्ने मन छ’

यसरी नै प्रत्येक दिन
एउटा बालक दिनभर
एउटा कारागारमा हुन्छ 
र, थकित भएर साँझ 
अर्को कारागारमा फर्किन्छ !

र, बिर्सन्छ आफ्नै मातृभाषा बोल्न !
भुल्छ सोच्न !
सिक्छ रंगभेद, लिंगभेद 
धर्म, जाति र वर्गको खेल
र, खोल्छ अर्को कन्सन्ट्रेसन क्याम्प !

See More On

सुझावित समाचार