एमाले ११औँ महाधिवेशन : विद्युतीय मेसिनबाट मतदान

बढ्यो एमाले प्रतिनिधि संख्या, २२ सय ५० नाघ्यो

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेले ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वको मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमालेले दसौँ महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन नै प्रयोग गरेको थियो । 

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेतृत्व छनोटलाई छिटो, छरितो र प्रभावकारी बनाउन विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न लागिएको र त्यसका लागि टेन्डर प्रक्रिया सकेर छनोट प्रक्रिया सुरु भएको छ । ‘नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने टुंगोमा पुगेका छौँ, त्यसका लागि टेन्डर आह्वान गरेर कम्पनी छनोट गर्दै छौँ,’ ज्ञवालीले भने । 

एमाले महाधिवेशनका प्रतिनिधि संख्या बढेको छ । २२ सयहाराहारी प्रतिनिधि अनुमान गरिएकोमा अन्तिम संख्या यकिन हुँदा २२ सय ५० देखि २२ सय ७५ सम्म पुग्न सक्ने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले बताए । 

एमालेले १२ सय सदस्यबराबर महिला र ४० वर्षमुनिका एक युवासहित चार प्रतिनिधि छनोट हुने मापदण्ड तोकेको थियो । तर, पछिल्लो सचिवालय बैठकले शेष बाँकी आठ सय सदस्यमाथि रहेको अवस्थामा थप एकजना महिला प्रतिनिधि अनिवार्य गरेसँगै संख्या बढेको अधिकारीले बताए ।

एमालेले प्रतिनिधिहरूको कार्ड प्रदेशहरूमै डिजिटाइज्ड गरेर छपाइका लागि मात्र विभागमा पठाउन निर्देशन दिएको छ । केन्द्रमा आएका गैरभौगोलिक क्षेत्र, जनसंगठन र पदेनसहित एकतिहाइ प्रतिनिधिको कार्ड छपाइ भने सकिएको अधिकारीले बताए । एमालेको ११औँ महाधिवेशनको नेतृत्वमा अध्यक्षका प्रत्याशी अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच चुनावी प्रतिस्पर्धाकेन्द्रित छलफल भएको छ । पोखरेलसहित उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे तथा सचिव योगेश भट्टराई ओलीलाई भेट्न भक्तपुर गुन्डु पुगेका थिए । 

भेटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा चुनावी प्रतिस्पर्धा निश्चितजस्तै बन्दै गएकाले अहिल्यैदेखि स्वस्थ वातावरण निर्माण गरेर जानुपर्ने भन्दै अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन् । कतिपय जिल्लामा प्रतिनिधि छनोट स्वस्थ हुन नसकेको र विवादित बनेका छनोट प्रक्रिया पनि संगठन विभागबाट छिटो नटुंगिएकोमा पोखरेलको चासो थियो । 

यसैगरी, पोखरेलले यस्ता विवादले महाधिवेशनको बन्दसत्र प्रभावित हुन नहुने भन्दै छिटो निराकरणका लागि पहल लिन ओलीको ध्यानाकर्षण गराएका थिए । संगठन विभागमा ओखलढुंगा, दाङ, खोटाङ र धनकुटालगायतका जिल्लाबाट उजुरी परेको छ । त्यसमध्ये छानबिन गरेर धनकुटा र ओखलढुंगामा पाँच दिनभित्र प्रक्रियासम्मत प्रतिनिधि छनोटका लागि बुधबार केन्द्रीय संगठन विभागले निर्देशन दिएको छ । अरू जिल्लाको हकमा व्यक्तिगत ढंगले परेका उजुरीबारे पनि विभागले छानबिन गरिरहेको र सकेसम्म शुक्रबारभित्रै प्रक्रिया मिलेको–नमिलेको सबै यकिन गरिसक्ने विभागका प्रमुख काशीनाथ अधिकारीले बताए । 

ओखलढुंगामा पोखरेल पक्षले र धनकुटामा संस्थापन पक्षले एकलौटी गरेको भन्दै उजुरी परेकोमा दुवै जिल्लाको छनोटलाई मान्यता नदिई नयाँ प्रक्रिया सुरु गर्ने गरी विभागले निर्देशन दिएको हो । पोखरेल पक्षले दाङ, चितवन र डोटीमा पनि प्रक्रिया पूरा नगरी छनोट गरिएको दाबी गरेको छ । 

पोखरेलले ओलीलाई विभागको निर्देशनले मात्र काम नगर्ने भन्दै आफैँले पहल लिन सुझाव दिएका थिए । त्यसक्रममा ओलीले पनि प्रक्रियाभन्दा बाहिर गएर कहीँकतै एकलौटी गर्न नहुने भन्दै आफू स्वस्थ निर्वाचनको पक्षमा रहेको बताएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् । ‘म स्वस्थ निर्वाचनको पक्षमा छु, नटुंगिएका जिल्लामा प्रक्रियासम्मत निर्वाचन गरेर टुंग्याउन सकिहालिन्छ, किन जबर्जस्ती गर्नु ?’ पोखरेलसहितका नेताहरूसँग ओलीको भनाइ थियो । 

भेटवार्तामा ओलीले वरिष्ठ उपाध्यक्ष पोखरेललाई आफू सहज जितको अवस्थामा रहेको भन्दै सर्वसम्मतिको पक्षमा योगदान गर्न आग्रह गरेका थिए । तर, पोखरेलले भने आफूले यसअघि नै सचिवालय बैठकमा उम्मेदवार बन्ने जानकारी गराएर तयारी गरेकाले जित–हार जेसुकै भए पनि स्विकार गर्ने बताए । 

See More On

सुझावित समाचार