नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससमक्ष १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्धशतक प्रहार गरे।
उनले ३८ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी, जनकपुरका यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन जोडे।
सदूरपश्चिमका अभिनाश बोहरा एक्लैले चार विकेट लिए। त्यसैगरी, स्कट कुगलाइनले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
तीन खेल खेलेर अंकविहीन अवस्थामा रहेको जनकपुर आज जितको खोजीमा छ। जनकपुर अंकतालिकाको पुछारमा छ। प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अंकतालिकाको पहिलो स्थानमा छ। आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो।