पाइपलाइन हुँदाहुँदै ट्यांकरबाट पनि पेट्रोल आयात गरेर निगममा कमिसनको खेल, थपिन्छ मासिक ५ करोड व्ययभार, अख्तियारले थाल्यो छानबिन

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

पेट्रोलियम पाइपलाइनको पूर्ण क्षमता प्रयोग नगरी मासिक पाँच करोड रुपैयाँ अतिरिक्त खर्च हुने गरी आयल निगमले ट्यांकरबाट पेट्रोल ढुवानी गर्दै आएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । आयोग अधिकारीहरूले छिट्टै अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन अगाडि बढाउने बताएका छन् । 

नयाँ पत्रिकाले २८ कात्तिकमा ‘आयल निगम व्यवस्थापन र ट्यांकर व्यवसायीबिच साँठगाँठ : पाइपलाइन हुँदाहुँदै ट्यांकरबाट पनि पेट्रोल आयात, मासिक पाँच करोड व्ययभार’ शीर्षकमा समाचार प्रकाशित गरेका थियो । सो समाचार सार्वजनिक भएको केही दिनमै अख्तियारमा उजुरी दर्ता भएपछि छानबिन प्रक्रिया अघि बढाइएको स्रोतले जानकारी दिएको छ ।

अख्तियारका एक अधिकारीले ‘निगमभित्र बदमासी भएको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि ध्यानाकर्षण भएको’ बताए । ‘सम्बन्धित विषयमा उजुरीसमेत प्राप्त भएको छ । त्यसपछि अनुसन्धान अघि बढाउने प्रक्रिया सुरु गरिएको छ । छिट्टै अनुसन्धान अधिकृत तोकेर काम अघि बढाइनेछ,’ ती अधिकारीले नयाँ पत्रिकासँग भने । 

अख्तियारले पाइपलाइन बिछ्याएर खर्च घटाउने, चुहावट नियन्त्रण गर्ने र सीमासम्बन्धी झन्झट हटाउने उद्देश्य राखिए पनि उल्टै ट्यांकरमार्फत तेल ओसारेर आर्थिक भार बढाइएको निष्कर्षसहित छानबिन अघि बढाएको स्रोतले जनाएको छ । बरौनी–अमलेखगन्ज ढुवानीका कागजात मागेर अनुसन्धान प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।

अमलेखगन्ज डिपोमार्फत आयल निगमले भारतको बरौनी रिफाइनरीबाट दैनिक २०–२२ ट्यांकरमा पेट्रोल ढुवानी गर्दै आएको छ । यसका लागि १०४ ट्यांकर पालैपालो प्रयोग हुन्छन् । तर, ट्यांकर व्यवसायीलाई फाइदा पुग्ने गरी पाइपलाइनको पूर्ण क्षमता प्रयोग नगरेको आरोप छ ।

निगमका अनुसार पाइपलाइनले देशभरको पेट्रोलियम खपतको ७० प्रतिशतसम्म पूर्ति गर्न सक्ने क्षमता राख्छ । पाइपलाइनबाट नियमित आयात हुने पेट्रोल, डिजेल र मट्टीतेलले अमलेखगन्ज, काठमाडौं, पोखरा, विराटनगर र भैरहवाको माग धान्न सक्छ । तर, अमलेखगन्ज डिपो क्षेत्रमा रहेको पेट्रोलपम्पका लागि पेट्रोल भने ट्यांकरमार्फत ढुवानी गर्दै, अनावश्यक आर्थिक भार बढाइरहेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट दैनिक करिब पाँच सय किलोलिटर पेट्रोल ट्यांकरबाट ल्याइन्छ । प्रतिट्रिप ७८ हजार ३५६ रुपैयाँ ४० पैसा भुक्तानी हुने दरअनुसार १०४ ट्यांकरले महिनामा औसत ६–६ पटक ढुवानी गर्छन् । यस आधारमा महिनामा ६२४ ट्रिप हुने र निगमले मासिक चार करोड ८८ लाख ९४ हजार रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने स्रोतले बतायो । मूल्य समायोजनसँगै भाडादर बदलिन पुग्ने भएकाले औसत खर्च पाँच करोड रुपैयाँभन्दा माथि पुग्ने निगम स्रोतको भनाइ छ ।

पाइपलाइन सञ्चालनमा आएपछि पनि नियमित रूपमा ट्यांकरबाट पेट्रोल आयात गरिँदै आएको छ । निगमले स्थानीय आपूर्ति व्यवस्थित नहुने बहानामा ट्यांकरको उपयोग गरिरहेको भए पनि यसमा कमिसनको खेल रहेको आरोप छ । गत वर्ष असोजदेखि हालसम्म निगमले कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त भार व्यहोरेको छ ।

तेल चोरीमा संलग्न पेट्रोलपम्प र ढुवानीकर्तालाई सोधियो स्पष्टीकरण
१६ कात्तिकमा मकवानपुरको मनहरी गाउँपालिका– ८ स्थित जय शिव शरणम् फ्युल सेन्टरमा ट्यांकरबाट ४२ लिटर पेट्रोल चोरी भइरहेको अवस्थामा पक्राउ परेको घटनामा निगमले पम्प र ट्यांकर धनीलाई स्पष्टीकरण सोधेको छ । मकवानपुर प्रहरीले पम्पका तीन कर्मचारी र ट्यांकरचालकलाई नियन्त्रणमा लिएर सात दिनको म्यादमा अनुसन्धान अघि बढाइरहेको छ । अमलेखगन्ज डिपोबाट काठमाडौंका लागि गइरहेको ना.४ख ९३७७ नम्बरको ट्यांकरबाट चोरी भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावलीअनुसार ट्यांकरधनी र पेट्रोलियम पदार्थ विक्रेता विनियमावलीअनुसार पम्प सञ्चालकलाई कारबाहीको प्रक्रिया अघि बढाएको प्रवक्ता मनोज ठाकुरले बताए । चोरीमा संलग्न ट्यांकरलाई पनि इन्धन ढुवानी बन्द गरिएको प्रवक्ता ठाकुरले बताए । निगमले यस्ता घटनामा चालकलाई आजीवन इन्धन ढुवानमा प्रतिबन्ध लगाउने र ट्यांकरधनी तथा पेट्रोलपम्पलाई तीनदेखि ६ महिनासम्म कारोबार रोक्का गर्ने निर्णय गर्दै आएको छ ।

दैनिक २२ ट्यांकरमा आयात गरिन्छ पेट्रोल
पाइपलाइनबाट सम्पूर्ण पेट्रोलियम आयात गर्न सकिने भए पनि अमलेखगन्ज डिपोमार्फत निगमले भारतबाट दैनिक २० देखि २२ ट्यांकरमा पेट्रोल ढुवानी गरिरहेको छ ।

त्यसका लागि १०४ ट्यांकर पालैपालो प्रयोग गरिएका छन् । तर, ट्यांकर व्यवसायीलाई पोस्न पाइपलाइनको पूर्ण क्षमता प्रयोग गरिएको छैन । हाल कायम बरौनी–अमलेखगन्ज रुटको भाडादर प्रतिट्यांकर ७८ हजार २९७ छ । निगमले मासिक पाँच करोड रुपैयाँभन्दा बढी ढुवानी भाडा तिर्छ । यही रकममा निगमका कर्मचारीले कमिसन खाने गरेको स्रोतको दाबी छ । 

सुझावित समाचार