मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक : मंगलबार राति सहमति, बुधबार बिहानै टेन्डर

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्ने सहमति मंगलबार राति भएकोमा बुधबार बिहानै टेन्डर आह्वान गरिएको छ । सडक विभागले १७ किमि लामो मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडक स्तरोन्नति गर्न बुधबार ३० दिने टेन्डर आह्वान गरेको हो । 

१ असार ०७८ मा आएको बाढीले नदीआसपासका अधिकांश बस्ती पूर्ण रूपमा क्षति हुनुका साथै सडक पनि भत्किएको थियो । सो बाढीबाट प्रभावित स्थानीयले विभिन्न माग राख्दै आएका थिए । त्यसमा पछिल्लोपटक २३ असोज ०८१ मा संघर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबिच विभिन्न सम्झौता भएको थियो । सो सम्झौता कार्यान्वयन नभएपछि स्थानीयहरू पुन: विरोधमा उत्रिएर गत २० कात्तिकदेखि सुरुङमा पानी पथान्तरण नै रोकेका थिए । त्यसपछि काठमाडौं आउने खानेपानी पानीको आपूर्ति पनि प्रभावित भएको थियो । 

स्थानीयले पानी नै रोकेपछि सरकार र स्थानीयबिच विभिन्न चरणको वार्ता भयो । मंगलबार राति १० बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकारवाला समितिबिच विभिन्न समझदारी भएको छ । अहिले खानेपानी मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा छ । सहमति भएसँगै सुरुङमा पानी आपूर्ति गर्न सुरु गरिएको छ । सहमतिका विभिन्न विषयमध्ये एक ‘मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडक स्तरोन्नति’ पनि हो । सोहीअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फको सहमति कार्यान्वयनमा पनि लगिएको हो । राति १० बजे सहमति गरेर बिहानै टेन्डरको सूचना आउनुले सरोकारवाला निकायले द्रुत गतिमा काम गरेको देखाएको छ । 

‘चालू आव ०८२/८३ मा स्वीकृत मेलम्ची थांगपालधाप थांगपालकोट भोतांग यांग्री सडक र फटे दाउचेत केउरिनी बाँसखर्क बरुवा बोल्गांग यांग्री सडकमा विनियोजित बजेट सडक विभागमा रकमान्तर गर्ने र बहुवर्षीय ठेक्का व्यवस्थापनका लागि थप रकम निकासाको प्रक्रिया तत्काल अगाडि बढाउने । मेलम्ची अम्बाथान मेलम्ची घ्याङ सडक निर्माण कार्यका लागि विनियोजन भएको बजेट रकममध्ये २५ करोड सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया मंसिर महिनाभित्र अगाडि बढाउने । उक्त सडकलाई बहुबर्षीय ठेक्का योजना अन्तर्गत एक अर्बको श्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले टेण्डर प्रकृया तत्काल अगाडि बढाउने । गल्फुभन्ज्यांग–चित्रे–ग्याल्थुम अडिट चनौटे रातोपुल, पाल्चोक देवीथान, बरुवाको लागि सडक विभागमा अनुरोध गर्ने,’ मंगलबारको सहमति पत्रमा भनिएको छ । 

त्यसमध्ये मेलम्ची अम्बाथान मेलम्ची घ्याङ सडकतर्फको सहमति कार्यान्वयनमा अघि बढेको हो । सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरेको हो । मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीनवटा प्याकेजमा विभाजन गरिएको छ । 

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले सडक स्तरोन्नति गर्न ३० दिनको टेन्डर निकालिएको बताए । ‘बाढीले सडक काटेको अवस्था छ । मुख्यत: त्यसमा ग्याबिनलगायतको पर्खाल लगाएर सडकमा थप क्षति हुन नदिने काम गर्नुपर्नेछ । त्यससँगै सडक स्तरोन्नतिको काम पनि हुनेछ । त्यसका लागि २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ,’ उनले भने, ‘त्यसका लागि बजेट व्यवस्थापन भइसकेको छ । हाम्रो कार्यालयलाई अख्तियारी पनि आइसकेको छ । त्यसपछि हामीले टेन्डर आह्वान गरेका हौँ ।’

यसअघि पटक–पटक आएको बाढीले सडक क्षतिग्रस्त गराएको थियो । तर, त्यसको पुनर्निर्माण तथा मर्मत हुन सकेको थिएन । अहिले उक्त सडक कच्ची अवस्थामै छ ।

See More On

सुझावित समाचार