नारायणी अस्पतालमा सिनियर चिकित्सक हुँदा हुदै जुनियर चिकित्सकलाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ। अस्पतालमा ११औँ तहका चारजना चिकित्सक हुदाँहुदै १०औँ तहका युरो सर्जन डा. चितरन्जन साहलाई निमित्त मेसुको जिम्मेवारी दिइएको हो।
अस्पतालका तत्कालीन मेसु डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएपछि १०औँ तहका डा. साहले निमित्त मेसुको जिम्मेवारी पाएका हुन्।
यसअघि पटकपटक निमित्त मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हालिसकेका डा. साहलाई तत्कालको लागि निमित्त मेसुको जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा. समिर बुढाथोकीले जानकारी दिए। उनका अनुसार डा. साहलाई अनुभवका कारण तत्कालका लागि यो जिम्मेवारी दिइएको हो।
अस्पतालमा ११औँ तहका स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ डा. सुरेन्द्र चौधरी, बालरोग विशेषज्ञ डा. शैलेश ठाकुर, यौन छाला तथा कस्मेटिक रोग विशेषज्ञ डा. अतुलेश चौरसिया र एनेस्थेसिया डा. रामपुकार साह छन्। आर्थिक लेनदेनमा पटकपटक जुनियरलाई निमित्त मेसुको जिम्मेवारी दिइएको कर्मचारी स्रोतको आरोप छ।
डा. चितरन्जन साहले यसअघि २०७३ भदौ २९ देखि ०७४ असोज २८ सम्म पहिलोपटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका थिए। दोस्रोपटक ०७९ पौष ६ देखि ०८१ जेठ १३ सम्म निमित्त भएका उनलाई यही कातिक १८ गने पुनः सोही जिम्मेवारी दिइएको हो।