यलुङ री हिमपहिरोमा बेपत्ता भनिएका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ सुरक्षित

मंगलबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

दोलखाको रोल्वालिङ हिम श्रृंखलास्थित ‘यलुङ री’ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भनिएका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा सुरक्षित भेटिएका छन्।

उनका दाजु पेम्बा शेर्पाका अनुसार फुर्वा सुरक्षित रहेका छन्। पेम्बाका अनुसार फुर्वासहितको टोली पहिल्यै आरोहण सकेर फर्किसकेको थियो। ‘भाइ फुर्वा तेन्जिङसहितको टोली पहिल्यै आरोहण सकेर फर्किसकेको थियो। उनी फर्किएपछि अर्को टोली हिमपहिरोमा परेको हो। अहिले ऊ गाउँमै छ र उद्धार कार्यमा सक्रिय छ,’ उनले भने।

यसअघि दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले हिमपहिरोमा फुर्वा तेन्जिङ बेपत्ता भएको बताएका थिए। तर, पछिल्लो जानकारीअनुसार उनी सुरक्षित रहेको पुष्टि भएको छ। २४ वर्षका फुर्वा तेन्जिङले अहिलेसम्म १५ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा समेत दर्ता छ।

उक्त हिमपहिरोमा ड्रिम्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा रहेको आरोहण टोली परेको थियो। टोलीमा तीन विदेशी आरोही, पाँच नेपाली गाइड र स्थानीय सहयोगीसहित १४ जना थिए।

सुझावित समाचार