विभिन्न आठ दल–समूहसँगको एकताबारे असन्तुष्ट माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्माले माओवादी त्याग गर्दै नयाँ अभियान घोषणा गरेका छन्।
मंगलबार ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गर्दै शर्माले महाधिवेशन सम्पन्न गर्न गठित आयोजक समितिले अधिकार क्षेत्रबाहिर गएर एकताको नाटक गरेको टिप्पणी गरे।
प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको बताउँदै उनले नेताहरूको गल्ती र असफलतालाई ढाकछोप गर्न झुन्ड तयार गरेको आरोप लगाए। उनले भने, ‘अहिलेको ध्रुवीकरण जो छ, कुनै विचार र सिद्धान्त त्यहाँ छैन। त्यहाँ नेताहरूका गल्ती र असफलतालाई ढाकछोप गर्ने एउटा झुन्ड तयार गरिँदै छ। त्यसबाट देशले, कुनै पनि नागरिकले उपलब्धि हासिल गर्नेछैन। त्यसकारण त्यो (एकता) भ्रम मात्रै हो।’
आफूहरूले नेतृत्वको दाबी नगर्ने जिकिर गर्दै शर्माले अब नयाँ पुस्तालाई आफूहरूको नेता बनाउने प्रतिबद्धता जनाए। ‘हामी नेतृत्वको दाबी गर्दै फेरि अध्यक्ष वा उपाध्यक्ष हुन यो गर्दै छैनौँ। यहाँ सहिदका सन्तति हुनुहुन्छ, उहाँहरू अबको हाम्रो नेता हो। उहाँहरूको पुस्ता अबको नेता हो। हामीभन्दा पछिल्लो पुस्ता अबको नेता हो। उहाँहरूलाई नेतृत्वमा ल्याएर हाम्रा अनुभवहरूलाई सेयर गरेर अगाडि लैजाने हाम्रो प्रतिबद्धता छ,’ शर्माले भने।