भारी वर्षाको चेतावनीसँगै पूर्वतयारीमा मधेश प्रदेश सरकार

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

केही दिनयता मौसममा आएको परिवर्तन र भारी वर्षाको चेतावनीसँगै मधेश प्रदेश सरकार पूर्वतयारीमा जुटेको छ।

प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलले बुधबार प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठक गरी पूर्वतयारीमा जुट्न सुरक्षा निकाय तथा सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री सोनलको अध्यक्षतामा भएको प्रदेश विपत् व्यवस्थापन समितिको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुको सहभागिता थियो। बैठकमा भारतको उडिसाबाट सुरु भएको मोन्था चक्रवातको प्रभाव पर्ने भएकाले त्यसको पूर्वतयारीका विषयमा छलफल गरिएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म मधेश प्रदेशभर मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यस्तो अवस्थामा सर्वसाधारणलाई सतर्क रहन मुख्यमन्त्री सोनलले आग्रह गरेका छन्।

मुख्यमन्त्रीले प्रदेशका मुख्य नदीहरू सप्तकोशी, बागमती, कमला, रातु र लखनदेहीको जलस्तर खतराको सीमाभन्दा माथि पुग्ने सम्भावना रहेको हुँदा तटीय बस्तीहरूको सुरक्षाका लागि प्रदेश सरकार उच्च सतर्कतामा रहेको बताए। उनले ती नदीका किनारामा रहेका बस्तीहरूमा सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै तत्काल धर्मशाला, विद्यालय तथा अन्य सार्वजनिक भवनहरूका सर्न अपिल गरेका छन्।

मुख्यमन्त्री सोनलले विपद् जोखिम न्यूनीकरणका लागि अधिकतम प्रयास गरिने र उपलब्ध सबै जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने प्रतिबद्धता जनाए।

सुझावित समाचार