सरकार गठनको एक महिनापछि भोलि कूटनीतिक ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्री

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

अन्तरिम सरकार गठनको एक महिनापछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई सम्बोधन गर्न लागेकी छिन् । परराष्ट्रमन्त्रीको नियुक्ति भएलगत्तै कूटनीतिक ब्रिफिङको तयारी भए पनि मन्त्रिपरिषद्मा ढिलाइ भएपछि परराष्ट्रमन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्की आफैँले नै शुक्रबार ‘ब्रिफिङ’ गर्न लागेकी हुन् । बिहीबार सरकार गठनको एक महिना पूरा हुँदै छ ।

नेपालमा रहेका युरोपियन युनियन तथा २६ मुलुकका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबार बोलाएको छ । परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कूटनीतिक ‘ब्रिफिङ’को तयारी भइरहेको बताए । ‘काठमाडौंस्थित कूटनीतिक समुदायलाई प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा गरिएको छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘जेन–जी आन्दोलनपछिको परिस्थिति र सरकारका प्राथमिकताबारे सम्बोधन गर्ने तयारी छ ।’

हरेक ठुलो परिवर्तनलगत्तै सरकारले काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई आफ्नो घरेलु र बाह्य सम्बन्धको प्राथमिकताबारे जानकारी दिने चलन रहँदै आएको छ । सम्बोधनमा विशेषत: आगामी २१ फागुनमा गर्ने चुनावका लागि समर्थन गर्न प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्ने सम्भावना छ । प्रधानमन्त्री कार्कीले सरकारले सुशासनलगायतका विषयमा गर्दै आएको कार्य र अबको प्राथमिकता पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछिन् । 

सम्बोधनमा प्रधानमन्त्री कार्कीले सरकारले लोकतान्त्रिक मूल्यपद्धतिसहित लोकतन्त्र, समावेशीकरण र विधिको शासनप्रति प्रतिबद्धता दोहोर्याउने छिन् । प्रधानमन्त्री कार्कीले यसबिचमा भारतीय, चिनियाँ र अमेरिकी राजदूतहरूसँग छलफल गरिसकेकी छिन् । 

सुझावित समाचार