जेन–जी आन्दोलनका क्रममा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालयको चारवटा गोदामबाट लुटिएकामध्ये करिब साढे तीन प्रतिशत चामल र चिनीसहित केही जिन्सी सामग्री फिर्ता आएको छ।
आन्दोलनमा गत २४ भदौमा जिल्लास्थित विभिन्न सरकारी कार्यालय, प्रतिष्ठान, स्थानीय तहहरूबाट लुटिएका खाद्यान्न, नगद, जिन्सीलगायतका सामग्री तत्काल फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेपछि चामल, चिनीलगायतका जिन्सी सामग्री फिर्ता भएको हो। गत २९ भदौदेखि ५ असोजसम्म स्थानीय युवाहरूले गाउँ–टोलमा संकलन गरेका र कतिपय व्यक्ति स्वयंले लगेका चामल, चिनी, फर्निचर, केही थान जुटका बोरालगायतका सामग्री फिर्ता भएको कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए।
उनका अनुसार आइतबार साँझसम्म २५ किलो तौल दरको ५९९ सिलप्याक बोराको १४९.७५ क्विन्टल र खुला १४९.६८ क्विन्टल गरी २९३.४३ क्विन्टल चामल र ५० किलो तौल दरको १३४ बोराको ६७ क्विन्टल र खुला ४०.८४ क्विन्टल गरी १०७.८४ क्विन्टल चिनी फिर्ता भएको हो। ‘फिर्ता भएका चामल, चिनी लुटिएकोमध्ये ३.५२ प्रतिशत मात्र हो,’ उनले भने। त्यसबाहेक कार्यालयका सात थान स्टिल दराज, दुई–दुई थान सोफा र सोफा कुर्सी, एक थान काठको खाट, एक थान कुर्सी, १५५ थान जुटको बोरा र एक थान त्रिपाल फिर्ता भएको उनले बताए।
कति लुटिएको थियो चामल र चिनी ?
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लहानको सहिद रमेश महतो चोकदेखि करिब तीन सय मिटर पश्चिम सडकको दक्षिणतर्फ रहेको खाद्यको चारवटा गोदाममा भण्डारण गरिएको अरुवा सोना मन्सुली, फोर्टिफाइड सोना मन्सुली, फोर्टिफाइड र स्टिम जिरा मसिनो चामल गरी आठ हजार १४८ क्विन्टल, चिनी तीन हजार २२० किलो, ५३ क्विन्टल २१ किलो धान, जुटका विभिन्न साइजका नयाँ पुराना गरी ९८ हजार ८१५ थान बोरा लुटपाट भएको थियो।
‘चामल, चिनी, धान, जुटका बोरासहित १० करोड ९१ लाख २२ हजार आठ सय २७ रुपैयाँबराबरको लुटपाट भएको छ,’ खाद्यका सूचना अधिकारी अनिलकुमार महतोले भने। त्यसबाहेक धान चामललाई घुन, किराबाट जोगाउन छोपिने विशेष खालको त्रिपाल फ्युमिगेसन सिट नयाँ ६ थान, केही थान पुराना पनि लुटिएको उनले बताए। ‘एउटा फ्युमिगेसन सिट कम्तीमा पनि सात–आठजनाले मात्र उचाल्न सक्छन्,’ उनले भने, ‘मुलुकभर खाद्यसँग मात्र रहेको त्यो पनि लुटेर लगिएको छ।’ लुटपाटको क्रममा कार्यालय भवनसँगै रहेको ग्यारेजमा राखिएको बा.१ञ १०९० नम्बरको कार, चालू अवस्थामा रहेको ग्ल्यामर कम्पनीको मोटरसाइकल पनि काम नलाग्ने गरी आगजनी गरिएको छ। कार्यालयपरिसरमै रहेको खाद्यका कर्मचारीको क्वार्टरबाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिन्डरसमेत लुटिएको कर्मचारीले बताए।
यसअघि करिब १९ वर्षअघि १ माघ ०६३ मा जारी भएको अन्तरिम संविधानमा आफ्नो असन्तुष्टि जाहेर गर्दै तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको आह्वानमा भएको आन्दोलनको ५ माघमा लहानमा विद्यार्थी रमेश महतो मारिएपछि सडकमा रोकिएको दर्जनौँ सवारीसाधनमा आगजनी गरिनुका साथै खाद्यको गोदाममा रहेका चामल, चिनी, धान लुटपाट भएको थियो।