कचौरा आकारको काठमाडौं उपत्यका हाइकिङप्रेमीका लागि भूस्वर्ग नै हो भन्दा अत्युक्ति नहोला । काठमाडौं उपत्यकाका बस्ती छाडेर कुनै पनि कुनाबाट डाँडातिर उक्लिनासाथ भेटिन्छन्, गज्जबका ‘हाइकिङ रुट’ । जसको जति हिँड्ने क्षमता छ, उसले त्यसैअनुरूपका रुट पछ्याउन सक्छ । उपत्यकाभित्रका सहर जतिजति कछाड क्षेत्रतिर फैलिँदै छन्, त्यतित्यति सुविधासम्पन्न सडक मार्गले प्रत्येक डाँडाका फेदी र अधिकांश डाँडाका टुप्पालाई एक–अर्कासित जोडेका छन् । हाइकिङबाहेक साइक्लिङ र बाइकिङका लागि पनि उपत्यकावरिपरिका डाँडाकाँडा निकै चल्तीमा छन् ।
डाँडाकाँडामा गरिने हाइकिङ यसै पनि रोमाञ्चक हुन्छ । झन् हरिया रुखबिरुवा, सिमसिमे झरी, छिनछिनमै आफूलाई घुम्टो ओढाउन आइपुग्ने कुहिरो, प्रत्येक खोल्साखोल्सीमा भेटिने अनेक ‘साइज’का झरना, पदयात्राभरि गुन्जिरहने झ्याउँकिरीको झ्याइँझ्याइँ र पक्षीहरूको कलरव तथा जुकाको आक्रमणले बर्खे हाइकिङलाई थप रोमाञ्चक बनाउँछन् । झन् त्यसमाथि प्रश्न सोधिरहने, भनेको खासै नटेर्ने, बालसुलभ उटपट्याङ गरिरहनुपर्ने, कहिले दौडिएर हैरान पार्ने, कहिले नहिँडिदिएर दिक्क लाउने, मसिनो जुका खुट्टामा चढ्यो भने पनि बाघले झम्टेजस्तो कोलाहल मच्चाउने, बेसुरा गीत गुनगुनाइरहने, बिन्दास भएर नाच्दै हिँड्ने, खोल्साखोल्सी र झरना देख्नासाथ डुबुल्की लगाइहाल्नुपर्ने स्कुले विद्यार्थी हाइकिङका सहयात्री भएपछि त के चाहियो र ? सित्तैँको मनोरञ्जन खोज्न अन्त जानैपर्दैन ।
२१ भदौको बिहान जेन–जीको तुफानी विद्रोहको दुई दिनअघि रातभरिको मुसलधारे वर्षाले काठमाडौं निथ्रुक्क रुझेको छ । कुमारीगालस्थित मोक्षदा स्कुलका ४० जना विद्यार्थी र पाँचजना शिक्षक–शिक्षिकाको टोली लिएर बुढानीलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पानीमुहान पुग्दा आकाश चुहिएलाझैँ देखिँदै थियो । काउन्टरबाट टिकट लिएर सेनाका जवानलाई झोला चेकजाँच गराइसक्दा लगभग ८ बजेको हुँदो हो । शनिबार भएकाले होला, टिकट लिने मानिसहरू बाक्लै देखिन्थे । तर, मूल गेटबाट भित्र छिरेपछि भने सबैका गन्तव्य फरक–फरक थिए । कोही विष्णुद्वार, कोही डाँडागाउँ, कोही गुर्जे भञ्ज्याङ, कोही बागद्वार, कोही शिवपुरी, कोही सूर्यचौरतिर लम्किए भने हामीचाहिँ लाग्यौँ सुन्दरीजलतिर । जेन–जी विद्रोहसँगै आफ्नो सत्ता र महल छाडेर भागेका नेतालाई सेनाले ‘सुरक्षित’ राखेको शिवपुरी ब्यारेकसँगैको मोटरबाटो हुँदै नागी गुम्बामुनि पुगुन्जेल सडक हल्का उकालिँदै थियो । खरायोजस्ता विद्यार्थीलाई रोक्दै र कछुवाजस्ता विद्यार्थीलाई पर्खिंदै, खोल्साखोल्सीमा पलाएका मूलको पानी पिउँदै साथमा लगेका सुक्खा खानेकुराको स्वाद लिँदै हाम्रो जम्बो टोली हिँडिरह्यो । सायद पढेनन् भनेर अभिभावकको कचकच सुन्न पनि नपर्ने र अघिपछि पढपढ भनेर कराइरहने शिक्षकशिक्षिकासित जिस्किँदै, खेल्दै, रमाउँदै यात्रा गर्न पाउने भएर होला, हाइकिङका सहयात्री विद्यार्थी बाटाका दायाँबायाँ फुलेका बर्खे फूलझैँ ढकमक्क फुलेझैँ देखिन्थे । हामी हिँडिरहेको सडकलाई दायाँबायाँका रुखले ढपक्कै ढाकिदिएका थिए भने काठमाडौं उपत्यकाचाहिँ बाक्लो कुहिरोको घुम्टोभित्र लुकिरहेको थियो । खोल्साखोल्सीको सुसाहट, झरनाको छङछङ र झ्याउँकिरीको संगीतसँगै हाम्रा पाइला फटाफट अघि बढिरहे । प्रवेशविन्दु पानीमुहान हामीबाट निकै टाढा छुटिसकेको थियो भने हाम्रो अन्तिम गन्तव्य सुन्दरीजल क्रमश: नजिकिँदै थियो, सायद ।
बाटामा भेटिएको चेकपोस्टका सैनिकलाई प्रवेश टिकट देखाएर हाम्रो विवरण ‘इन्ट्री’ गराउँदै गर्दा थाहा भयो, हामी तारेभिर पुगिसकेका रहेछौँ । थोरै अगाडि रहेछ तारेभिर गाउँ । गोकर्णेश्वर नगरपालिकाभित्र पर्ने तारेभिर जंगलभित्र लुकेको शान्त गाउँ भए पनि यहाँ ठुल्ठुला होटेल र रिसोर्टको संख्या थपिने क्रममा रहेछ । आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्न तम्तयार भएर बसेको रहेछ तारेभिर । यहाँसम्म पुग्दा काठमाडौं उपत्यकाले कुहिरोको घुम्टो हटाइसकेको हुनाले बौद्धनाथ, गोकर्णेश्वर महादेव, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, धरहरासहित काठमाडौं, भक्तपुर र ललितपुरका धेरै भूभाग एकसाथ हेर्न पाउँदा मखलेल देखिन्थ्यो हाम्रो टोली । कति त त्यहीँबाट आफ्नो घर, मामाघर या स्कुल कता पर्छ भनेर औँलाले देखाइरहेका थिए । सायद यही खुसीको रन्कोले होला, तिनले आफ्ना खुट्टामा जुकाले आक्रमण गरेको पनि चाल पाउन छाडिसकेका थिए । कति जुकाले त पेट भरेर आफ्नो बाटो तताइसकेको निकै पछि मात्र पत्तो पाइरहेका थिए तिनले ।
यहाँ पुग्दा सहरको आयतन जति फैलिँदो छ, काठमाडौं उपत्यका भने झन्झन् साँघुरिँदै, खुम्चिँदै र डल्लिँदै गएको आभास भयो । खोइ फैलँदो सहरमा खाली स्थान ? खोइ बालबालिकालाई खेल्ने खुला मैदान, खोइ हरिया बोटबिरुवा रोप्ने खाली जमिन ? यता हेर्यो घरैघर, उता हेर्यो घरैघर ! कुनैवेला प्रशस्त अन्न, तरकारी, फलफूल उब्जने फराकिला उर्वर फाँटमा घर मात्र उमार्न प्रतिस्पर्धा गरिरहेको छ सहरले । पहिलापहिला रोपनी रोपनीबिच प्रतिस्पर्धा गर्ने सहर अहिलेको फैलावटसँगै आना, पैसा र दामको प्रतिस्पर्धामा झरेको छ । घरैघरको खाँदाखाँदमा उकुसमुकुसको निसास्सिँदो अवस्थामा छ सहर । तैपनि, यही उकुसमुकुस र कोलाहलबिच पनि धन्न सास भने फेरिरहेको छ सहरले ! धन्न यही निसास्सिँदो सहरमा आफूलाई जिउँदो राखेको छ मान्छेले !
मौसमले राम्रै साथ दिइरहेको थियो हामीलाई । न पानी परिरहेको थियो, न घाम नै लागिरहेको थियो । तर, अघिल्लो रातको मुसलधारे वर्षाले गर्दा बाटामा कतै टुसुक्क बसेर खाजा खाने ठाउँ पनि थिएन । जहाँ रोकियो, त्यहीँ जुकाको आक्रमण सुरु भइहाल्थ्यो । मोटरबाटो नाम मात्रको थियो । बर्खाको भेलले खोलेर मोटर गुड्नलायक छाडेको थिएन । साइकल र मोटरसाइकल भने हुइँकिइरहेका भेटिन्थे वेलावेला । सडक नामको यो बाटो चिप्लो पनि उस्तै थियो । कैयौँ स्थानमा त पिँडुलासम्म भासिने गरी दबदबे हिलो थियो, नाघेर पार गर्नै सकस पर्ने । कतिपय विद्यार्थीले त चिप्लेर कैयाँैपटक माछा मारिसकेका थिए । तारेभिरको पल्लाछेउ पुगेपछि एक स्थानमा जसोतसो बसेर हामी सबैले घरबाटै बोकेको खाजाले पेट भर्यौँ ।
दायाँबायाँ जंगलमा कटुस, सल्लो, उत्तिस, लालिगुराँसलगायत अनेक नामका रुख देखिन्थे । लालिगुराँस फुल्ने सिजन नभएकाले बोट चिनेपछि फूल देख्न नपाउँदा विद्यार्थी खिन्न देखिए । बाटोका दायाँबायाँ भकिम्लोका बोटमा फूल खेलिरहेको देखिन्थ्यो । अलि पछि जाने हो भने भकिम्लोको स्वाद पनि लिन पाइने रहेछ । बाटाका दायाँबायाँ सिस्नो र ऐँसेलुका काँडाले पनि वेलावेलामा विद्यार्थीलाई ‘माया’ गरिरहेका थिए । चैत–वैशाखमा यस रुटको यात्रा गर्ने हो भने मनग्य ऐँसेलु खान पाइने रहेछ । विद्यार्थीहरू हरेक रुख देखाउँदै नाम सोधिरहेका थिए । आफूले तिनलाई नचिनेर कैयौँको नाम बताउन नपाउँदा खल्लो लाग्यो । बिहान पानीमुहानबाट हिँडेदेखि नै अब कति घण्टा लाग्छ भनेर सोध्न थालेका विद्यार्थीले अझै सोध्न छाडेका पनि थिएनन्, पहिलो यात्रा भएकाले सुन्दरीजल कति टाढा छ भन्ने आफूलाई पत्तो पनि थिएन । जति हिँड्यो, जंगलको एकपछि अर्को पत्र उघ्रिरहेका थिए । हामी बिस्तारै गन्तव्यतिर लम्किरहेका थियौँ । बाटामा भेटियो एउटा मज्जाको खोला । कञ्चन पानी, पानीभित्रका सबै ढुंगा प्रस्टै देखिने, ‘क्रिस्टल क्लियर’ ! अहिलेसम्म बाटाका झरना र खोल्साखोल्सीमा जति खेले पनि जुत्तामोजा खोलेर पानीमै पस्न भने पाएका थिएनन् विद्यार्थीले । यहाँचाहिँ पानीमा पस्ने अनुमति पाएपछि ती कम्ती रमाएनन् । सहरमा अड्कलेको पानीले गुजारा चलाइरहेका विद्यार्थी कलकल बगिरहेको यति कञ्चन पानी पाएपछि नरमाऊन् पनि किन ? फागु बिर्साउने गरी एक–अर्कामा पानी छ्यापाछ्याप गरेर रमाइरहेका उनीहरूलाई पानीबाट बाहिर निकाल्नै हम्मे पर्यो ।
कतै हिलोमा चिप्लिँदै, कतै एक–अर्कालाई त कतै अभिभावकलाई फोन गरेर ‘प्य्रांक’ गर्दै अघि बढेको टोलीले सुन्दरीजल–चिसोपानी सडकमा पुगेपछि अर्को मज्जाको झरना भेट्यो । सडककै कुनामा रहेको सुरक्षित झरना देखेपछि यहाँ भने धित मर्ने गरी लगाएका लुगैसमेत नुहाए । नाच्ने, गाउने, फोटो, भिडियो खिच्ने र टिकटक बनाउने गरेर यहाँ पनि लामै समय बिताएपछि टोली चिसै लुगामा अघि बढ्यो । यहाँबाट सुन्दरीजल खासै टाढा रहेनछ । एकैछिनमा सुन्दरीजलस्थित बाँधमा पुगियो, जहाँबाट ल्याइएको पानीले काठमाडौंले राणाकालदेखि नै तिर्खा मेट्दै आएको छ । फर्किंदा बाटामा भेटिएको स्यालमतीको झरना र उर्लंदो बागमतीको मोहकताले ओरालोमा गलेका सबैको थकान छुमन्तर गरिदियो ।
बिहान पानीमुहानबाट ८ बजे सुरु भएको हाम्रो यात्रा आठ घण्टापछि ४ बजेतिर सुन्दरीजल बसपार्कमा पर्खिरहेको स्कुल बसमा पुगेर टुंगियो । यो रुट पदयात्रा, साइक्लिङ र बाइकिङका लागि सारै रोमाञ्चक रहेछ । हिँड्न नसक्नेले पनि सजिलै पार गर्न सक्ने यो हाइकिङ रुट काठमाडौंलाई नजिकबाट नियाल्न चाहनेका लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।