सिराहाको गोलबजार नगरपालिका– २ मा विद्यार्थी बोक्ने निजी विद्यालयको बसको ठक्करले पैदल हिँडिरहेका बालकको मृत्यु भएको छ ।
गोलबजार– २ सैैनिक चोकबाट टुड्किया गाउँतर्फ जाँदै गरेको गोबजारस्थित ट्रिनेटी बोर्डिङ स्कुलको ग.१ख ३७८८ नम्बरको बसले स्थानीय मदन साहका छोरा करिब १० वर्षीय आदर्शकुमार साहलाई ठक्कर दिँदा टाउकोमा चोट लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँतर्फ जाँदै गरेको बसले शुक्रबार बिहान करिब साढे ११ बजेतिर बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद साहको कमान्डमा खटिएको टोलीले घटनास्थलकाे मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहा प्रहरी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बसका चालक गोलबजार– ३ बस्ने करिब २८ वर्षीय विमल भुजेल फरार रहेकाले स्कुलका प्रिन्सिपल दिलीप बुढाथोकीलाई नियन्त्रणमा लिई गोलबजार प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।