‘जलवायु परिवर्तनको असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य’

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले जलवायु परिवर्तनको असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको बताएका छन् । उनले नेपाल हिमालकै कारण नेपाल चिनिने भएकाले पनि यसको संरक्षण सबैको साझा दायित्व रहेको बताए ।

त्यस्तै, पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ । बिहीबार पर्वतारोहणसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा पर्वतारोहणको इतिहासलाई दस्ताबेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटन प्रहरीको सेवा, आरोहण संघको योगदान र विदेशी पाहुनासँगको व्यवहारबाट नेपालको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

मन्त्री पाण्डेले क्यासिनोबारे समाजमा बनाइएका नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने बताए । ‘राम्रो र नराम्रो पक्ष छुट्याउनुपर्छ, विकृति–विसंगति हटाउनुपर्छ,’ उनले भने । कुनै पनि क्षेत्रलाई अघि बढाउन सैद्धान्तिक र नीतिगत आधारमा कानुन निर्माण आवश्यक हुने उल्लेख गर्दै मन्त्री पाण्डेले निषेधित क्षेत्र घोषणा गर्ने समयमा रहेको वास्तविकता बुझ्नुपर्ने बताए । त्यस्तै, पर्यटन विभागका महानिर्देशक डा. नारायण रेग्मीले कर्णाली र सुदूरपश्चिम प्रदेका ९७ वटा हिमाल आरोहणका लागि रोयल्टी छुट गरेको जानकारी दिए । यो कार्यले कर्णाली र सुदूरपश्चिमका हिमालको प्रचारप्रसारका साथै उक्त क्षेत्रमा पर्यटनको ढोकासमेत खोलिने दाबी गरे । 

सुझावित समाचार