तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आह्वान

बुधबार, ३२ असार, २०८२
डिजिटल संस्करण

ताप्लेजुङमा तीन वर्षदेखि सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आह्वान गरिएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिको आयोजनामा आउँदो साउन २४ गतेदेखि फुङलिङमा सञ्चालन हुने उक्त गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आह्वान गरिएको लाखेजात्रा सञ्चालन समितिका सचिव टेकेन्द्र नेपालीले बताए ।

गोल्डकपमा टिकट बिक्रीका लागि इच्छा भएको कम्पनी, संस्था वा समूहहरूले सात दिनभित्र लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा सम्पर्क गर्नुपर्ने सचिव नेपालीले बताए । प्रतियोगिताको पहिलो चरणका चारवटा खेलको टिकट दर एक सय रुपैयाँ  रहने र दोस्रो चरण (सेमिफाइनल) खेलको लागि टिकट दर दुई सय रुपैयाँ रहने र फाइनल खेलको टिकट दर दुई सय ५० रुपैयाँ रहने सचिव नेपालीले जानकारी दिए ।

टिकट बिक्री गर्ने कम्पनी, संस्था वा समूहले कम्तीमा २० लाख रुपैयाँ बुझाउनुपर्नेछ । गोल्डकप सञ्चालनका लागि तयारीस्वरूप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ भने अस्थायी प्यारापिट निर्माण कार्य सुरु गरिएको बताइएको छ ।

गत वर्ष ताप्लेजुङ गोल्डकपमा २४ लाख ४८ हजार पाँच सय रुपैयाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकै दिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन चार हजार ५६ जना दर्शकलाई दुई सय ५० दरले टिकट बिक्री गरिएको बताइन्छ । ताप्लेजुङ गोल्डकपको नामले फुटबल सञ्चालन गरिएको तीन वर्ष भयो भने लाखेजात्राको अवसरमा फुटबल प्रतियोगिता गराइँदै आएको ०२९ सालदेखि ५४ वर्ष भएको जानकारहरू बताउँछन् । 

सुझावित समाचार