संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताका क्रममा रुस र युक्रेनले ‘ब्ल्याक सी’ र ऊर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमति जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दसाैँ हजार मानिसको ज्यान लिइसकेको युद्धको शीघ्र अन्त्यका लागि जोड दिइरहेका वेला अमेरिकी वार्ताकारहरूले साउदी अरबको राजधानी रियादमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबिच तीन दिनसम्म छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दुवै देश सुरक्षित नेभिगेसन सुनिश्चित गर्न, बल प्रयोग अन्त्य गर्न र ब्ल्याक सीमा सैन्य उद्देश्यका लागि व्यापारिक जहाजको प्रयोग रोक्न सहमत भएका छन्।’
दुवै देशमा ऊर्जा पूर्वाधारमा आक्रमणमा प्रतिबन्ध लगाउने उपायहरू पनि खोजी गर्ने सहमति भएको संयुक्त राज्य अमेरिकाले जनाएको छ।
क्रेमलिनले भने रुसको कृषि क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेपछि मात्र ब्ल्याक सीमा आक्रमण रोक्ने सम्झौता लागू हुने बताएको छ। रुस र संयुक्त राज्य अमेरिकाले गत हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको ३० दिने ग्यास पाइपलाइन, विद्युतगृह र तेल प्रशोधन केन्द्रमा लागू हुने ऊर्जा युद्धविराममा सहमति जनाएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पको चर्को दबाबपछि कूटनीतितर्फ फर्केका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहायता र गुप्तचर आदान–प्रदानमा केही समयका लागि प्रतिबन्ध लगाउनेलगायत सम्झौताले काम गर्छ कि गर्दैन भनेर अहिले नै भन्न नसकिने, तर ती ‘सही कदम’ भएको बताएका छन्।
जेलेन्स्कीले किभमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘वार्तामा भविष्यमा युद्धविरामका लागि तेस्रो पक्षलाई ल्याउने विषयमा पनि छलफल भएको छ।
दुवै पक्षसँग सम्बन्ध कायम गरेको टर्कीले ‘ब्ल्याक सी’को अवस्थाको अनुगमन गर्न सक्ने र मध्यपूर्वी राष्ट्रले ऊर्जा सम्झौताको पर्यवेक्षण गर्न सक्ने जेलेन्स्कीको भनाइ छ।