बागमती प्रदेश सरकारले दुई सचिवको जिम्मेवारी तोकेको छ। आइतबार प्रदेशका प्रमुख सचिव महादेव पन्थले संघीय सरकारबाट सरुवा भई आएका दुई सचिवको जिम्मेवारी तोकेका हुन्।
गत २७ फागुनमा बसेको प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय सरकारबाट सरुवा भई आएका उनीहरूको जिम्मेवारी तोकिएको हो। उक्त बैठकले मुख्यमन्त्री बहादुरसिंह लामा र प्रमुख सचिव पन्थलाई जिम्मेवारी तोक्ने अधिकार दिएको थियो।
हाल जिम्मेवारीमा रहेका सचिव सरुवा भएको स्थानमा जान नमान्दा र मन्त्रीअनुकूल सचिव नभएको भन्दै एक सातादेखि उनीहरूको जिम्मेवारी तोकिन सकेको थिएन। मुख्यमन्त्री लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाका अनुसार २ सचिवलाई मन्त्रालयको जिम्मेवारी तोकिएको हो।
कृष्णबहादुर लामालाई प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र विनु बज्राचार्यलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा जिम्मेवारी तोकिएको उनले जानकारी दिए। सम्बन्धित मन्त्रालयमा कामकाज गर्ने गरी आइतबार नै पत्र प्रदान गरिएको र उनीहरू हाजिर हुने क्रम रहेको प्रमुख स्वकीय सचिव लामाले बताए।
त्यस्तै, मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन तथा बैठक महाशाखाको सचिवमा उदय रानामगरलाई जिम्मेवारी तोकीएको छ। युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा कार्यरत मगरलाई थप जिम्मेवारीसहित मुख्यमन्त्री कार्यालयको प्रशासन तथा बैठक महाशाखामा ल्याइएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई दरबन्दी रहेको स्थानमा नै काम गर्ने गरी खटाइएको छ। थप जिम्मेवारीको रूपमा मन्त्रालयमा काम गर्दै आएका दर्जीलाई दरबन्दी रहेको प्रदेश सभा सचिवालयमा नै खटाइएको हो।