विप्लवलालको अप्रत्याशित सन्न्यास

बिहिबार, ७ चैत, २०८१
डिजिटल संस्करण
  • १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक जिताएका २९ वर्षीय विप्लवलाल श्रेष्ठले कराँते महासंघका कारण सन्न्यास लिन बाध्य भएको बताए

दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी कराँते खेलाडी विप्लवलाल श्रेष्ठले खेलजीवनबाट सन्न्यासको घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै १३औँ सागका स्वर्ण पदक विजेता २९ वर्षीय श्रेष्ठले नेपाल कराँते महासंघ (एनकेएफ)का कारण सन्न्यास लिन बाध्य भएको आरोप लगाए ।

विप्लवले महासंघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव युवराज लामाका कारण यो निर्णय लिएको पनि खुलासा गरे । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलजीवन यहीँ अन्त्य गर्ने निर्णय गरेको छु । यो निर्णय लिन गाह्रो भइरहेको छ,’ विप्लवले भने, ‘यो निर्णय महासंघ र अध्यक्ष युवराज लामाकै कारण लिएको हुँ ।’

सागमा कराँतेको कुमुते ८४ केजी प्लस समूहमा श्रेष्ठले देशलाई स्वर्ण पदक जिताएका थिए । फाइनलमा पाकिस्तानका बाज मोहम्मदलाई ५–४ को स्कोरमा हराउँदै विप्लवले स्वर्ण पदक जितेका थिए । 

अध्यक्ष लामाले भेदभाव गरेको र टिमबाट बाहिर राखेपछि मानसिक रूपमै खेल्न नसक्ने अवस्थामा पुगेको विप्लवको आरोप छ । ‘खेल्ने क्षमता हुँदाहुँदै भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप र थाइल्यान्डमा सम्पन्न छैटौँ इन्डोर एसियाली च्याम्पियनसिपमा अयोग्य ठहर गरियो । अस्वस्थ भएर पनि भुटानमा देशका लागि पदक जिताएको थिएँ । तर, अध्यक्षले सम्मानित गर्नुपर्ने अवस्थामा हतोत्साहित गर्नुभयो ।’

विप्लवलालले एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड– २०७९ बाट महासंघले आफूलाई असहयोग गर्दै आएको पनि आरोप लगाएका छन् । अवार्डको समयमा प्रचारप्रसारमा महासंघले कुनै सहयोग नगरेको उनको बुझाइ छ । लामो असन्तुष्टिबिच जापानमा तय भएको २०औँ एसियाली खेलकुदको मिसन २६ अभ्यासमा पनि समावेश नगरिएको विप्लवको आरोप छ । 

यता, लामाले भने विप्लवको आरोपभन्दा पनि असन्तुष्टि रहेको बताउँदै उनलाई कुनै व्यक्तिले उकासेको सुनाए । ‘विप्लवलालको पत्रकार सम्मेलनमा जुन प्रकारको आक्रोश देखेँ, आरोपभन्दा पनि असन्तुष्टि देखेँ, त्यो आफैँले क्लियर गरेको छ । आरोप लगाउँदा त्यहाँ विप्लव देख्दिनँ । नियोजित देखिन्छ । ती व्यक्तिलाई समयले बाहिर देखाउँछ ।’

दसौँमा पुलिसबाट खेल्ने तयारी थियो
विप्लवले दसौँ राष्ट्रिय खेलकुद खेल्ने योजना बनाए पनि सफल नभएको बताए । उनी नेपाल पुलिस क्लबबाट खेल्ने तयारीमा थिए । तर, दसौँको मिति बारम्बार सरेपछि अस्ट्रेलिया पुग्ने निर्णय लिएका छन् । ‘जे–जस्तो भए पनि दसौँ खेल्ने योजना थियो । तर, प्रतियोगिता हुने टुंगो पनि भएन । यहाँभन्दा अस्ट्रेलिया जाने योजना बनाएँ ।’ विप्लवले यसअघि पनि राष्ट्रिय खेलकुद, राष्ट्रिय कराँते च्याम्पियनसिप, कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता, वीर गणेशमान सिंह स्मृति राष्ट्रिय किकिबक्सिङ प्रतियोगिता, एनआरएन राष्ट्रिय कराँते नेपाल पुलिसबाट खेल्दै आएका थिए । 

निर्णय लिन गाह्रो भएको छ : विप्लवलाल श्रेष्ठ, खेलाडी, कराँते
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलजीवनको अन्त्य गर्ने निर्णयमा पुगेको छु । यो निर्णय लिन गाह्रो भइरहेको छ । अहिले मेरो सन्न्यास लिने उमेर पनि भएको छैन । कराँते मेरो जीवनको अभिन्न अंग हो । यही खेलमा समर्पित रहेर देशका लागि कैयौँ उपलब्धि हासिल गरेँ । तर, कराँते महासंघका अध्यक्ष युवराज लामालगायतले भेदभाव गर्दा मानसिक रूपमा गाह्रो भयो र यो निर्णय लिएको छु । 

असन्तुष्टि देखाउँदा कुनै गुनासो छैन : युवराज लामा, अध्यक्ष, कराँते महासंघ
विप्लवलालको पत्रकार सम्मेलनमा जुन प्रकारको आक्रोश देखेँ, आरोपभन्दा पनि असन्तुष्टि देखेँ, त्यो आफैँले क्लियर गरेको छ । आरोपमा विप्लव देख्दिनँ । नियोजित देखिन्छ । ती व्यक्तिलाई समयले बाहिर देखाउँछ । असन्तुष्टि देखाउँदा कुनै गुनासो छैन । चीन र भुटानमा खेल्न नपाएको भन्ने कुरा छ । ऊ आफैँ विदेश गएर हो । मन्त्रालयमा उजुरी परेको रहेछ । ऊ विदेश गएर नै टिममा नपरेको हो । सन्न्यास लिने विषयमा महासंघलाई कुनै जानकारी छैन । म संघमा रहेसम्म उसको सन्न्यास फिर्ता हुने देख्दिनँ । 

सुझावित समाचार