ट्रम्प र पुटिनबिच डेढ घण्टा फोन वार्ता

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच मंगलबार डेढ घण्टा फोन वार्ता भयो । दुई नेताबिच फोनमा भएको कुराकानीको विवरण भने खुलाइएको छैन ।

तथापि यसलाई युक्रेनमा जारी युद्ध रोक्ने प्रयासका रूपमा हेरिएको छ । दुवै पक्षले वासिंटन र मस्कोबिच भएका हालका वार्ताबारे आशावादी धारणा व्यक्त गरेका छन् । तर, ३० दिने युद्धविरामको सबैभन्दा कठिन बुँदाहरू समाधान गर्न उच्चस्तरीय वार्ता मात्र सक्षम हुने कुरामा सहमत भएका छन् । युक्रेनले युद्धविरामका लागि सहमति जनाइसकेको छ । 

ट्रम्पले वार्ताअघि आफ्नो ट्रुथ सोसल नेटवर्कमा राष्ट्रपति पुटिनसँगको वार्ताका लागि निकै उत्सुक भएको बताएका थिए । पुटिनले गत हप्ता युद्धविरामको विचारसँग आफू सहमत भएको तर यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आफूसँग ‘गम्भीर प्रश्नहरू’ रहेको बताएका थिए । 

ट्रम्पले आइतबार उनी र पुटिनले ‘केही सम्पत्ति विभाजन गर्ने, यसमा जमिन र विद्युत् संयन्त्रहरू समावेश रहेको’ बताएका थिए । विद्युत् संयन्त्र भनेर दक्षिण युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठुलो जापोरिझ्झिया आणविक संयन्त्रबारे भनिएको हो कि भन्ने केहीले आशंका गरेका छन् । हाल यो संयन्त्र रुसी नियन्त्रित भागमा छ । 

सुझावित समाचार