परराष्ट्रमन्त्री राणाद्वारा इरानी समकक्षीसँग टेलिफोन वार्ता, विपिन जोशीको रिहाइको पहल

शुक्रबार, २४ माघ, २०८१
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिहीबार राति इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छिन् । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको प्रयासको पहलस्वरूप फोनवार्ता भएको राणाले जानकारी दिएकी छिन् ।

विपिनको मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास जारी राखेको र  यसैको  निरन्तर प्रयासमा टेलिफोन वार्ता गरेको परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुक र एक्समा लेखेकी छिन् ।
इरानी विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँगको आगामी बैठकमा विपिनको रिहाइको मुद्दा उठाउने आश्वासन दिएका छन् ।  ‘म महामहिम अराघ्चीलाई उहाँको आश्वासन र समर्थनका लागि धन्यवाद दिन चाहन्छु,’ परराष्ट्रमन्त्री राणाले भनेकी छिन् । 

जोशी २० असोज ०८० देखि हमास समूहको नियन्त्रणमा छन् । हमासको नियन्त्रणमा रहेका पाँचजना थाई नागरिकको मुक्तिसँगै जोशी मुक्त हुने आशा नेपाल सरकारको छ । परराष्ट्रमन्त्री डा. देउवाले पनि यसअघि इजरायलका समकक्षी गिडिओन सारसँग जोशी रिहाइको प्रयास गरिदिन टेलिफोनमा कुराकानी गरेकी थिइन् ।

‘जोशी जीवित छन् र उनको उद्धारको प्रयास जारी छ भन्ने सन्देश इजरायलबाट आएको हुनाले हामी आशावादी छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने । नेपाली कूटनीतिक अधिकारीहरूका अनुसार जोशी २३ माघसम्म छुटिसक्ने विश्वास इजरायली कूटनीतिक च्यानलबाट प्राप्त भएको थियो । तर, यो सम्भव भएन । यद्यपि, ती अधिकारीले भने, ‘हामी प्रयासरत छौँ र आशावादी पनि छौँ ।’ 

प्यालेस्टाइनको गाजास्थित हमास समूहको नियन्त्रणबाट तेस्रो समूहअन्तर्गत १७ माघमा पाँचजना थाई र तीनजना इजरायली नागरिक मुक्त भएका थिए । इजरायल र प्यालेस्टिनी हमास समूहबिच ३ माघमा भएको युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र उसको नियन्त्रणमा रहेका ३३ जनालाई नियन्त्रणमुक्त गर्नुपर्नेछ । यसलाई पहिलो चरण भनिएको छ । यो चरणमा इजरायली नागरिक मात्रै नियन्त्रणमुक्त हुने भनिएको भए पनि बिहीबार पाँचजना थाई नागरिकसमेत मुक्त भए । त्यसमा नेपाली विपिन पनि मुक्त हुने आशा थियो । 

युद्धविराम सम्झौताअनुसार हमासले १९ जनवरीमा तीनजना, २५ जनवरीमा चारजना र बिहीबार आठजना गरी १५ जनालाई मुक्त गरिसकेको छ । १९ जनवरीदेखि लागू हुने गरी ६ साता अर्थात् फेब्रुअरीभित्र हमासले ३३ जनालाई मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । त्यतिन्जेल इजरायलको जेलमा रहेका करिब दुई हजार प्यालेस्टिनी नागरिक पनि मुक्त हुनेछन् ।

सुझावित समाचार