रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई ३ प्रश्न

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

संसद्को हिउँदे अधिवेशन बस्दै छ, त्यसको तयारी कसरी गरिरहनुभएको छ ?
हामीले अधिवेशनको तयारीकै लागि बुधवार संसदीय दलको बैठक आह्वान गरेका छौँ । त्यसबाट पर्याप्त छलफल गरेर संसद्मा प्रस्तुत हुने रणनीति तयार गर्छौं । हिउँदे अधिवेशन भनेको विशेषतः कानुन निर्माण गर्ने अधिवेशन हो । यसमा कानुन निर्माणका विषयसँगै हामी जनजीविकाका मुद्दालाई पनि जोडतोडले उठाउँछौँ ।

हिउँदे अधिवेशनको मुखैमा सरकारले विभिन्न अध्यादेश ल्याएको छ । यस विषयमा कसरी अघि बढ्नुहुन्छ ?
यस विषयमा हामी प्रतिपक्षमा रहेका अन्य दलहरूसित पनि छलफल गर्छौं । सरकारले ल्याएका अध्यादेशमा समेटिएका विषय र प्रक्रिया गम्भीर रूपमा गलत छन् । यसले लोकतन्त्रको मर्मकै अवमूल्यन गरेको छ । यो भत्र्सनायोग्य विषय हो । संसद्मा विचाराधीन विधेयकलाई बाइपास गरेर पनि सरकारले अध्यादेश ल्याएको छ । यसले संसद्को सार्वभौमिकतामाथि गम्भीर प्रहार गरेको छ । त्यसैले, हामी आगामी अधिवेशनमा यस विषयमा सशक्त रूपमा प्रस्तुत हुनेछौँ । 

अत्यावश्यक विधेयकलाई अगाडि बढाउने सन्दर्भमा के गर्नुहुन्छ ?
देश र जनताका हितसँग जोडिएका विधेयक निर्माणमा हामी यो वा त्यो पक्ष नभनी प्रक्रियामा सहभागी हुन्छौँ । कानुन निर्माणमा सघाउँछौँ । संसद्मा अलपत्र अवस्थामा रहेका विधेयकलाई अघि बढाउन दबाब दिन्छौँ । प्रक्रियामा गइसकेका देश र जनताको हितमा रहेका विधेयकलाई छिटो किनारा लगाउन हाम्रा तर्फबाट अवरोध गर्दैनौँ । तर, बहुमतको बलमा सत्तापक्षले आफूखुसी विधि, प्रक्रिया मिचेर लोकतान्त्रिक मूल्य मान्यतालाई नाघ्न खोजेमा त्यसको कडा प्रतिवाद गर्नेछौँ ।

सुझावित समाचार