सार्वजनिक यातायात र ढुवानी साधनको भाडादर वृद्धि

महँगीले आक्रान्त उपभोक्ता थप मर्कामा

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ११ पुसमा दिएका थिए भाडावृद्धिको स्वीकृति

महँगीले आक्रान्त भएका उपभोक्तालाई थप मर्का पर्ने गरी सरकारले सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गरी सार्वजनिक यातायातको भाडादर ३.३० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको जनाएको छ । त्यस्तै, ढुवानीका साधनमा पनि तराईको हकमा ०.०५ प्रतिशत र पहाडी बाटोका हकमा ०.८१ प्रतिशत भाडादर समायोजन गर्ने निर्णय गरेको छ । सोमबारबाटै बढेको भाडादर लागू भएको विभागले जनाएको छ ।

ढुवानी भाडामा भएको वृद्धिले अधिकांश वस्तु तथा सेवाको मूल्यवृद्धि गर्न मद्दत गर्नेछ । त्यस्तै, यात्रु भाडा बढ्दा उपभोक्ताको खल्तीमा सोझै असर देखिनेछ । विभागले १७ महिनापछि सवारीसाधनको भाडादर पुनरावलोकन गरेको जनाएको छ । पेट्रोलियम पदार्थ र अन्य शीर्षकमा भइरहेको मूल्यवृद्धिलाई ध्यान दिएर यातायातको भाडादर वृद्धि गरेको विभागको तर्क छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ११ पुसमा भाडादर वृद्धिका लागि स्वीकृति दिएकाले यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी, सञ्चालन मुनाफालगायतका सूचकहरूमा देखिएको मूल्यवृद्धिका आधारमा मूल्य समायोजनको निर्णय लिएको विभागको भनाइ छ ।

विभागले अन्तरप्रदेश र लामो रुटमा सञ्चालन हुने सवारीसाधनमा मात्रै भाडादर वृद्धि गरेको पनि जनाएको छ । भाडादर वृद्धि भएपछि काठमाडौं–काँकडभिट्टा १७ सय २५ रुपैयाँ कायम रहेको भाडादर बढेर १७ सय ८२ रुपैयाँदेखि २५ सय ६७ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, वीरगन्ज–काठमाडौं रुटमा चल्ने मालवाहक सवारीसाधनको भाडादर ३१ हजार चार सय ४६ रुपैयाँ निर्धारण गरिएको छ ।

सुझावित समाचार