अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा

विश्वभरका गरिबमध्ये आधा अफ्रिकामा

शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण

अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनबाट वञ्चित गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

बिहीबार विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्सन’ प्रतिवेदनमा डब्ल्युएचओले उक्त तथ्यांक उल्लेख गरेको छ।

अफ्रिकाका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक मात्सिडिसो मोएतीले भनिन्, ‘आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्छ। यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरूजस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्छ।’

सन् २००० र सन् २०१९ बिचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको संख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ। प्रतिवेदनका अनुसार उच्च स्वास्थ्य खर्चमा विश्वभरका गरिबमध्ये आधा अफ्रिकामा बसोबास गर्छन्।

अत्यधिक खर्चले अफ्रिकी नागरिकहरूलाई खाद्यान्न, कपडा र आश्रयजस्ता आधारभूत आवश्यकताहरूमा खर्च घटाउन बाध्य तुल्याउन सक्ने प्रतिवेदनले जनाएको छ। यसले धेरै अफ्रिकी देशहरूले अत्यधिक स्वास्थ्य खर्चको बोझलाई सम्बोधन गर्न बलियो नीति अपनाएका छन्।

See More On

सुझावित समाचार