मकवानपुरको हेटौँडा– १२ मा मुख्य दलहरूले टुंग्याए उम्मेदवार

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता 

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मकवानपुरको हेटौँडा– १२ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुँदै छ । निर्वाचनका लागि मुख्य दलहरूले आफ्ना उम्मेदवारहरू टुंगो लगाएका छन् ।

यहाँका राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, रास्वपालगायतका दलहरूले वडाध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएका छन् । यसअघि ०७९ वैशाखमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समितिको अध्यक्षमा निर्वाचित भएपछि उक्त पद रिक्त रहँदै आएको छ ।

गत ०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्ने हो भने यहाँ मुख्य दलहरू कांग्रेस, माओवादी केन्द्र र एमालेबिच नै प्रतिस्पर्धा हुने अड्कल गरिएको छ । यद्यपि, नयाँ मतदाता थपिएका र नयाँ दलहरूले समेत प्रतिस्पर्धा गर्दा यहाँको चुनाव अझै रोचक हुने अनुमान गरिएको छ । यसअघि वडाध्यक्ष घलान कांग्रेस र एमालेका उम्मेदवारलाई झिनो मतान्तरले पछि पार्दै निर्वाचित भएका थिए ।

यसपटक वडा नम्बर १२ को अध्यक्ष पदका लागि कांग्रेसले यसअघिकै उम्मेदवार अर्जुन तिवारीलाई टिकट दिएको छ । उनी योसँगै वडा नम्बर १२ बाट तेस्रोपटक उम्मेदवार बन्दै छन् । यस्तै, एमाले राजेश नगरकोटी, माओवादी केन्द्रले रविन प्रधान, एकीकृत समाजवादीले बलराम बल, राप्रपाले प्रेम लामा र रास्वपाले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

कांग्रेसका तिवारी र एमालेका नगरकोटी यसअघिको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका घलानसँग झिनो मतान्तरले पराजित भएका थिए । ०७९ को निर्वाचनमा कांग्रेसका तिवारी दोस्रो र एमालेका नगरकोटी तेस्रो भएका थिए ।

०७९ मा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार घलानले एक हजार ३७१ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तिवारीले एक हजार ३४० मत र एमालेका उम्मेदवार राजेश नगरकोटीले एक हजार ३२५ मत प्राप्त गरेका थिए । यही नतिजालाई हेर्दा घलान र तिवारीबिच ३१ मतान्तर रहेको छ भने नगरकोटीले प्राप्त गरेको मत घलानकाे भन्दा ४६ र तिवारीकाे भन्दा १५ मतले कम हो । 

वडामा एक हजार ५८८ मतदाता थपिए
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा– १२ मा एक हजार ५८८ मतदाता थपिएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनको तुलनामा एक हजार ५८८ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आगामी उपनिर्वाचनमा हेटौँडा– १२ को वडाध्यक्ष पदका लागि आठ हजार ५३ मतदाता कायम गरेको हो । जसमा पुरुष तीन हजार ८७८, महिला चार हजार १७४ र अन्य एकजना मतदाता रहेका छन् । ०७९ सालको स्थानीय तह निर्वाचनमा उक्त वडामा ६ हजार ४६५ मतदाता रहेका थिए ।

वडा नम्बर १२ को उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतकी न्यायाधीश अवानी मैनाली भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । यस्तै, यहाँ दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ रहनेछन् भने विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने बागगमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

निर्वाचन कार्यतालिकाअनुसार २ मंसिरमा मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकाशन, ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर जाँचबुझ र निर्णय, ४ मंसिरमा उम्मेदवारको नामावली प्रकाशन, ५ मंसिरमा उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

सुझावित समाचार