चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा मंगलबार दिउँसो ४:३० बजेपछिबाट विद्युत् आपूर्ति भएको छ। अविरल वर्षासँगै गएको पहिरो र बाढीका कारण इलाम खण्डमा काबेली करिडोरको टावर पोल (खम्बा) ढलेपछि विद्युत् सेवा अवरुद्ध बनेको थियो । विद्युत् सेवा अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाम जिल्ला अन्धकारमय भएका थिए ।
नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रका अनुसार १३३ केभी पुरानो प्रसारणलाइनलाई मर्मत गरेपश्चात् विद्युत् सेवा सञ्चालन भएको हो।अहिले तीनवटै जिल्लामा विद्युत् आपूर्ति सञ्चालन भएको वितरण केन्द्रले जनाएको छ । बाढीपहिरोले ढालेका काबेली करिडोरका पोल निर्माण गर्न भने कम्तीमा दुई–तीन महिना लाग्ने बताइएको छ ।
यता विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाम फुङलिङसहित सिंगो जिल्ला प्रभावित बनेको थियो। उज्यालो बत्तीसँगै विद्युतको प्रयोगबाट गर्नुपर्ने सबै सेवाहरू प्रभावित बनेका थिए। बैंकिङ कारोबार ठप्प भएको थियो। विद्युतका कारण एटिएम, चेक सटही, नगद जम्मा गर्नेसहित बैंकिङ सेवा ठप्प हुँदा उपभोक्ता तथा सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको थियो।
जिल्लामा सञ्चालित कलकारखाना, उद्योगधन्दा प्रभावित बनेका थिए भने सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहमा समेत समस्या आएको थियो ।