जिल्लाको पूर्वीभेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्रविन्दु पुलुमा आँखा शिविर सञ्चालन हुँदा ३४ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका, नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगु, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको आयोजनामा र आई केयर फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा विकट मुगुम कार्मारोङ गाउँपालिको केन्द्र पुलुमा दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
७ र ८ गते दुई दिनसम्म सञ्चालन भएको उक्त आँखा शिविरमा ३९७ जना आँखाका बिरामीको चेकजाँच गरिएको र जटिल ३४ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको डाक्टर सुवास नेपालले जानकारी गराए।
उनका अनुसार शिविरमा मुगुम कार्मारोङ गाउँपालिकाका विकट बस्तीहरूबाट स्थानीयलगायत अन्य स्थानीय तहबाट पनि आँखाका बिरामी पनि चेकजाँच गर्न आएका थिए । मोतियाविन्दु भएका आँखाका बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।
आँखाका बिरामी सबैभन्दा बढी ५० वर्षभन्दा माथिका रहेका र आँखाको हेरचाह राम्रोसँग नगर्ने, धुवाँ–धुलोका कारण पनि समस्या हुने गरेको चिकित्सकको भनाइ छ । शिविरमा आएका आँखाका बिरामीहरूले घरनजिकै आँखाको उपचार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
आर्थिक अभावमा रोग तथा समस्या पालेर बसेका थियौँ, तर घरनजिकै शिविर सञ्चालन हुँदा बन्द भएको आँखा खुलेको भन्दै मुगुम कार्मारोङ गाउँपालिका– २ का टसी लामाले खुसी व्यक्त गरे ।
पुलुमा भएको निःशुल्क आँखा शिविरमा डाक्टर अञ्जु गुरुङको नेतृत्वमा डाक्टर गोविन्दनाथ योगी, डाक्टर सुवास नेपाल, ध्रुवबहादुर बुढथापालगायतका चिकित्सकको टोली पुलुमै पुगेर आँखाको शिविर सञ्चालन गरेका थिए ।
नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको आयोजनामा मुगुमा हरेक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गरिँदा आर्थिक समस्या भएका मोतियाविन्दु भएका आँखाका बिरामीलाई शिविरले सहज गरेको छ ।