जाजरकोटका भूकम्पपीडितलाई अस्थायी आवासका लागि दोस्रो किस्ता निकासा

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

जाजरकोटका भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न दोस्रो किस्ताको रकम निकासा सुरु गरिएको छ । बिहीबार जिल्ला विपत् व्यवस्थापन समिति जाजरकोटले दोस्रो किस्ताको रकम निकासा पठाएको हो । समितिले बारेकोट, शिवालय र नलगाड पालिकालाई अस्थायी आवासको दोस्रो किस्ताको रकम निकासा गर्ने निर्णय भएको प्रमुम जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार तीन स्थानीय तहबाट दोस्रो किस्ताका लागि माग भएर आएका लाभग्राहीका लागि आवश्यक रकम पठाइएको छ । बैठकले जिल्लाको बारेकोट गाउँपालिकालाई ६ करोड, नलगाड नगरपालिकालाई ६ करोड र शिवालय गाउँपालिकालाई चार करोड रकम निकासा दिने निर्णय गरेको छ।

नलगाड नगरपालिकाभित्रका करिब चार हजार लाभग्राहीका लागि दोस्रो किस्ताको रकम पठाइएको छ । यस्तै, बारेकोट गाउँपालिकाका करिब पाँच हजार एक सय लाभग्राहीका लागि ६ करोड रकम निकासा भएको प्रजिअ अधिकारीले बताए ।  शिवालय गाउँपालिकाभित्रका करिब दुई हजार नाै सय लाभग्राहीका लागि दोस्रो किस्ताको रकम सम्बन्धित पालिकाको खातामा पठाइएको हो । उक्त रकम भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड २०८१ अनुसार स्थानीय तहले वितरण गर्नेछन् ।

बैठकले अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड २०८१ लाई पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । समितिले दोस्रो किस्ता पाउन योग्य रहेका लाभग्राही पहिचान गरेर मात्र आवश्यक कागजात प्रमाणहरूको आधारमा दोस्रो किस्ता दिन स्थानीय तहलाई आग्रह गरेको छ ।

जिल्लाको कुसे गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले दोस्रो किस्ताबापतको रकम माग भई नआएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। भेरी नगरपालिकालाई तत्कालका लागि आवश्यक पर्ने रकम स्थानीय तहको खातामा मौज्दात रहेको प्रजिअ अधिकारीले बताए ।

भूकम्प प्रभावित घरपरिवारको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार दिने व्यवस्था रहेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि लाभग्राही कायम भएकामध्ये बिहीबारसम्म जाजरकोटका ४० हजार ४१ जना लाभग्राहीले पहिलो किस्ताको रकम सम्बन्धित पालिकामार्फत पाएका छन् ।

३२ हजार ७८ जना दोस्रो किस्ता पाउन योग्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक हजार ३१ जनाले दोस्रो किस्ताको रकम प्राप्त गरेको प्रजिअ अधिकारीले बताए । जिल्लाका अधिकांस स्थानीय तह यतिवेला लाभग्राही पहिचानमा व्यस्त रहेका छन् ।

सरकारले समयमै तदारुकता नदेखाउँदा यहाँ भूकम्पपीडितले दिनहुँजसो पीडा भोग्नु परिरहेको छ । हावाहुरीका कारण अस्थायी आवासका लागि बनाइएको टहरा भत्काउनुका साथै पानीका कारण घरायसी सामान जोगाउन धौधौ हुने गरेको पीडितको गुनासो रहेको छ ।  भूकम्पपछि जिल्लाका १७ ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

सुझावित समाचार