जिल्लाको बेँसीसहर नगरपालिका– ३ मा रहेको गाउँसहर माध्यमिक विद्यालय जाँदै गर्दा बाटोमा अरिँगालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउसनजिककै अरिँगालले टोकेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर– ५ बाख्रेगजतका १३ वर्षीया रीना गुरुङ, १२ वर्षीया अर्जना तामाङ, १३ वर्षीया संगीता तामाङ र १० वर्षीया करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिँगालले उनीहरूको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उनले बताए ।
घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। घरबाट विद्यालयसम्म आउँदा जंगलको बाटो पर्ने प्रहरीले जनाएको छ ।