सामाजिक सञ्जालमा प्रतिबन्ध होइन, साक्षरता बढाऔँ

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

बालबालिकालाई सुरक्षित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नमा सघाउन तिनको सामाजिक सञ्जाल साक्षरतामा सुधार ल्याउन सक्नुपर्छ

अस्ट्रेलियाको संघीय सरकारले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने राष्ट्रिय योजना बनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले ‘कुनै पनि सरकारले सबै बालबालिकालाई सबै खतराबाट जोगाउन सक्दैन’ भन्ने स्विकार्दै आफूले सक्दो प्रयास गर्ने बताएका छन् । यद्यपि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा बालबालिकाले सामना गर्ने सम्भावित अनलाइन जोखिमको समस्या समाधान गर्दैन, अर्थात् यसले समस्यालाई केही समयका लागि रोक मात्रै लगाउनेछ । किनभने, जब बालबालिका सामाजिक सञ्जाल प्रयोग गर्ने उमेरमा पुग्छन्, त्यतिवेला पनि जोखिम उस्तै रहनेछ । बालबालिकालाई सुरक्षित रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न मद्दत गर्ने उत्तम उपाय भनेको तिनको सामाजिक सञ्जाल साक्षरतामा सुधार ल्याउनु हो ।

के हो सामाजिक सञ्जाल साक्षरता ? : सामाजिक सञ्जाल साक्षरता भनेको सामाजिक सञ्जालमा देखिने सामग्रीबारे बुझ्न एवं आलोचनात्मक रूपमा सोच्न सक्नु हो र यी सामग्री किन राखिए भनेर थाहा पाउनु हो । तपाईंको सामाजिक सञ्जाल फिडमा देखा पर्ने छवि (इमेज) र भिडियो संयोगले उपलब्ध भएका होइनन् भनेर बुझ्न आवश्यक छ । यी सामग्री सञ्जाल अल्गोरिदमका कारण देखा परेका हुन्, जसले तपाईंको व्यक्तिगत तथ्यांकलाई तपाईंका रुचि र तपाईं कस्ता सामग्रीमा संलग्न हुनहुन्छ भन्नेसँग जोड्छ । त्यही भएर सबैको सामाजिक सञ्जालमा देखिने सामग्री भिन्न–भिन्न हुने गर्छ । 

यी अल्गोरिदमले कसरी काम गर्छन् भन्नेबारे हामीलाई थाहा छैन । किनभने, फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जाल मञ्चले अल्गोरिदमलाई गोप्य राख्छन् । यद्यपि केही अनुसन्धानकर्ताले यसलाई परिवर्तन गर्न काम गरिरहेका छन् । अहिले विश्वभर डिजिटल मिडिया साक्षरताको अभाव छ, जसमा इन्टरनेटको युगमा जन्मिएका नवयुवा एवं सामाजिक सञ्जाल प्रयोगकर्ता पनि छन् । मैले आफ्नै अनुभवले यो ज्ञानको कमी महसुस गरेकी छु । हालै मैले अस्ट्रेलियाका करिब तीन सय विश्वविद्यालयका विद्यार्थीलाई सामाजिक सञ्जालबारे बताएकी थिएँ । तीमध्ये अधिकांशले आफ्नो सामाजिक सञ्जालमा कस्तो सामग्री देखा पर्छ भनेर निर्णय गर्ने अल्गोरिदमबारे कहिल्यै नसुनेका बताएका थिए ।

सशक्तीकरणको सन्देश : सामाजिक सञ्जाल साक्षरताको कमीले यस क्षेत्रमा शिक्षाको व्यापक अभावलाई प्रतिबिम्बित गर्छ । मौजुदा न्यूनतम सामाजिक सञ्जाल साक्षरता शिक्षा पनि निकै नकारात्मक र रक्षात्मक छ । जब म नवयुवासँग कुरा गर्छु, तब तिनले आफूलाई वयस्कले गर्न नहुने सबै कुरा बताउने गरेको भन्ने गर्छन् । उदाहरणका लागि यसमा ‘सामाजिक सञ्जालमा धेरै लामो समय नबिताऊ र आफ्नो फोन बन्द गर’ जस्ता उपाय पर्छन् ।

यसले युवालाई कसरी यौनबारे सिकाइएको थियो भन्ने पनि स्मरण गराउँछ । तर, अहिले यौन शिक्षामा परिवर्तन हुन थालेको छ र अब नवयुवालाई कसरी सुरक्षित र सहमतिमा यौन सम्पर्क गर्ने भनेर सिकाउनमा बढी ध्यान केन्द्रित गराइएको छ । ठिक यसैगरी नवयुवालाई सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्न मद्दत गर्न, यसले निम्त्याउने जोखिम व्यवस्थापन गर्न र यसले प्रदान गर्ने लाभको अनुभव गर्न थप सकारात्मक दृष्टिकोण आवश्यक छ । र, यो दृष्टिकोण सबै किसिमका पूर्वाग्रहबाट मुक्त हुनुपर्छ । यसले प्रविधिलाई बहुमुखी ढंगले व्यवहार गर्नुपर्छ भन्ने सिकाउँछ, जसले यसको फाइदा र बेफाइदा दुवैलाई स्वीकार गर्छ । र, यो डिजिटल विश्वमा सुरक्षित रूपमा सहभागिता जनाउन र नवयुवालाई आफ्नो सामाजिक सञ्जाल फिडका पछाडि के भइरहेको छ भनेर राम्रोसँग बुझ्न आवश्यक पर्ने सीप र तिनलाई सशक्त बनाउने प्रतिबद्धतामा आधारित हुनुपर्छ ।

बालबालिका एवं अभिभावकका लागि विशेष कक्षा आवश्यक : विद्यालयले विशेष कक्षा प्रदान गरेर सामाजिक सञ्जाल साक्षरता सुधार गर्न सक्छन् । यी कक्षा त्यतिवेला नै उपलब्ध गराउनुपर्छ, जब बालबालिकाले सामान्यतया फोनमा पहुँच पाउँछन्, अर्थात् प्राथमिकस्तरमै उपलब्ध गराउनुपर्छ । सामाजिक सञ्जाल साक्षरतालाई गणित, विज्ञानजस्ता अन्य विषयसँगै अध्यापन गरिँदा यो उपेक्षामा पर्ने जोखिम हुन्छ । युवाकालका लागि आवश्यक शिक्षा सुरु हुनुअगाडि नै जिम्मेवार डिजिटल बानी स्थापित हुन आवश्यक छ । 

बालबालिकाका लागि उपलब्ध गराइने कक्षाका अतिरिक्त विद्यालयले आफ्ना बालबालिकालाई अनलाइन मार्गदर्शन गर्ने मामिलामा अन्योलमा रहने अभिभावकका लागि पनि सामाजिक सञ्जाल साक्षरता कक्षा प्रस्ताव गर्नुपर्छ । उसो त धेरै विद्यालयले वार्षिक साइबर सुरक्षा छलफल चलाउँछन् र यी छलफलमा प्रायः इन्टरनेटका खतराका उही चेतावनी दोहो¥याइन्छन्, जसले अभिभावकलाई असहाय र निरुत्साहित महसुस गराउँछ ।

सामाजिक सञ्जाल साक्षरता र यसको सकारात्मक प्रयोगबारे अभिभावकलाई राम्रोसँग शिक्षित गर्नाले तिनलाई आफ्ना बालबालिकालाई मार्गनिर्देशन गर्न मद्दत गर्नेछ । सामाजिक सञ्जाल र हामीले यसको प्रयोग गर्ने तरिकामा धेरै तह छन् । तसर्थ, अभिभावकका लागि उपलब्ध गराइने शिक्षामा यी तहका विशेषज्ञ अर्थात् तथ्यांक वैज्ञानिक, समाजशास्त्री, विक्रेता, भिडियोग्राफर, मानव व्यवहार अनुसन्धानकर्ताजस्ता विशेषज्ञको ज्ञान प्रयोग गर्न आवश्यक छ ।

तर, विद्यालय एक्लैले यो महत्वपूर्ण काम गर्न सम्भव छैन । यदि सरकारले बालबालिकालाई अनलाइन सुरक्षित राख्न हरसम्भव प्रयास गर्न चाहन्छ भने तिनलाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाउनुभन्दा अन्य धेरै काम गर्न आवश्यक छ । सरकारले राम्रो सामाजिक सञ्जाल साक्षरता कार्यक्रमका लागि यसको विकास र यसमा लगानी गर्न आवश्यक छ ।

(ओर्लान्डो वेस्टर्न सिड्नी विश्वविद्यालयकी डिजिटल लिटरेसी र डिजिटल वेलबिइङकी अनुसन्धाता हुन्) 
द कन्भर्सेसनबाट

सुझावित समाचार