मेटलाइफ नेपालले ‘वान बाई मेटलाइफ’ एपमार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्यांकन सुविधा सुरु गरेको छ । यो अफर सेप्टेम्बर २०२४ को अन्त्यसम्म उपलब्ध रहने बताइएको छ । यस अवधिमा एपमा दर्ता गर्ने जोकोहीले आफ्नो फोनको क्यामरा प्रयोगबाट ५० सेकेन्डमा आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् ।
फोनको क्यामरा प्रयोग गरी एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्नेछ र तत्काल मुटुको दर, श्वासप्रश्वास दर, रक्तचाप, अक्सिजन स्तर र तनाव स्तरबारे जानकारी दिनेछ । यो सबै एक मिनेटभित्र हुने कम्पनीको दाबी छ ।
यो सुविधा लिन प्रयोगकर्ताले ‘वान बाई मेटलाइफ’ एप डाउनलोड गरी दर्ता गर्नुपर्ने हुन्छ । दर्तापछि लगइन गरेर निःशुल्क स्वास्थ्य जोखिम मूल्यांकन सुविधा वा एपमा उपलब्ध ३६० हेल्थ आइकनबाट छनोट गर्न सक्ने बताइएको छ ।
यो सेवाले प्रयोगकर्तालाई फोनमै आफ्नो फिटनेसको अपडेट लिन मद्दत गर्ने कम्पनीको विश्वास छ ।