अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राति सिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्य्राटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गरेकी छिन्। यो उनकाे उम्मेदवारीका लागि पार्टीमा औपचारिक स्वीकृति हो ।
अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन स्वीकार गर्दै डेमोक्य्राट्सको तर्फबाट अमेरिकाको नेतृत्व गर्ने पहिलो अश्वेत महिला उम्मेदवार ह्यारिसले सम्मेलनलाई सम्बोधन गरेकी थिइन्।
चुनावसँगै राष्ट्रसँग विगतको वैमनश्यता तथा विभाजनकारी लडाइँहरू पार गर्ने बहुमूल्य, अवसर रहेको भन्दै उनले आफ्नो उम्मेदवारी कुनै एउटा पार्टी वा समूहको रूपमा मात्र नभई अमेरिकाको तर्फबाट भएको बताइन् ।
सम्बोधनमा ह्यारिसले मध्यम वर्गको निर्माण आफ्नो राष्ट्रपतीय यात्राको प्रमुख लक्ष्य हुने बताउँदै गर्भपतन अधिकार, आप्रवासन नीति र विदेश नीतिलगायत अन्य विषयहरूमा पनि विस्तृत रूपमा व्याख्या गरिन् ।
ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यनीतिमाथि टिप्पणी गर्दै ट्रम्पलाई ह्वाइटहाउसमा फिर्ता राखे परिणाम ‘अत्यन्त गम्भीर’ हुने चेतावनी दिइन् । रासस/सिन्ह्वा