अध्यक्ष र उपाध्यक्षको विवादका कारण बकैया गाउँपालिकामा तालाबन्दी

शनिबार, १ भदौ, २०८१
डिजिटल संस्करण

मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा पालिकाका उपाध्यक्षले नै तालाबन्दी गरेका छन्। पालिकाका कर्मचारीको जिम्मेवारी तोक्ने विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा पालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको नेतृत्वमा तालाबन्दी गरिएको हो। गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारी तोक्ने विषयमा विवाद हुँदा उपाध्यक्ष खत्रीको नेतृत्वमा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरूले तालाबन्दी गरेका हुन्। 

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाको स्वास्थ्य र सामाजिक दुवै शाखाको जिम्मेवारी सम्हाल्दै आएका फटिकरमण प्याकुरेललाई सामाजिक विकास र रमेश फुँयाललाई स्वास्थ्य शाखाको जिम्मेवारी तोक्न खोजेपछि अध्यक्ष र उपाध्यक्षबिच विवाद भएको थियो। उपाध्यक्ष खत्रीले प्याकुरेललाई स्वास्थ्य शाखाको जिम्मेवारीमा नै राख्नुपर्ने र अध्यक्ष लामिछाने आफ्नो निर्णयबाट पछि नहट्ने बताएपछि दुईबिचको विवादले उग्र रूप लिएको पालिकाका एक कर्मचारीले बताए।

गाउँपालिका अध्यक्षले एकलौटी रूपमा निर्णय गर्ने प्रवृत्ति बढेकाले विरोध गर्नुपरेको उपाध्यक्ष खत्रीले बताए। अध्यक्षले छलफल र समन्वय नै नगरी कर्मचारीको जिम्मेवारी हेरफेर गर्न खोज्दा विवाद भएको उनले स्वीकार गरेका छन्। यता गाउँपालिका अध्यक्ष लामिछानेले भने उपाध्यक्ष खत्रीले आफ्नो अधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्।

उनले नागरिकको सेवा सहजताका लागि समान अधिकृतस्तर छैटाैँ तहका दुईजना कर्मचारीको जिम्मेवारी बाँडफाँट गर्दा उपाध्यक्ष खत्रीले अनावश्यक विवाद गरेको दाबी गरे। गत स्थानीय तह निर्वाचनमा गठबन्धनतर्फबाट अध्यक्ष लामिछाने नेपाली कांग्रेस र उपाध्यक्ष खत्री नेकपा माओवादीबाट निर्वाचित भएका हुन्।
 

सुझावित समाचार