जिल्लास्थित छायानाथ रारा नगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिने भएको छ। छायानाथ रारा नगरपालिका– २ चैन गाउँमा रहेको प्रसिद्ध छायानाथ मन्दिरबाट सोमबार मुगुम कार्मारोङ गाउँपालिका– १ छायानाथ हिमालमा रहेको छायाक्षेत्रमा गाथ (शिवको मूर्ति) लिने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
कार्यवाहक नगरप्रमुख ऐश्वर्या मल्लले जारी गरेकाे नगरपालिकाको सूचनामा सोमबार छायानाथ मन्दिरबाट छायाक्षेत्रमा गाथ लगिने भएकाले मातहतका विद्यालय, स्वास्थ्य सस्था, गैरसरकारी संघसंस्था, वित्तीय कार्यालयलगायत सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।
सोमबार गाथ लिँदा नगरपालिका क्षेत्रका घरघरबाट फूलमाला, अक्षेता, ध्वजा चढाउन मन्दिरमा स्थनीयहरू जाने र बाजागाजासहित गाथ पठाउँदा स्थानीयहरू सहभागी हुने भएकाले सार्वजनिक बिदा दिइएको छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी गराए । गाथ लिँदा मूर्ति, पुजारी र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरीको टोली पनि छायाक्षेत्रमा जाने गर्दै आएको छ ।
छायाक्षेत्रमा गाथको दर्शनका लागि सुदूरपश्चिम, कर्णाली र भारतबाट समेत यो वेला ठूलो संख्यामा भक्तजन आफ्ना कुलदेवता, विभिन्न देउताका धामीझाँक्रीसहित यहाँ आउने गर्दछन् । चार हजार ६ सय मिटर उचाइमा रहेको छायाक्षेत्रमा पुग्न कठिन र जोखिमपूर्ण यात्रा गर्नुपर्छ । छायाक्षेत्रमा पुग्न मुगु जिल्ला सदरमुकाम गमगढीबाट तीन दिन पैदल समय लाग्ने गर्छ ।
सतीदेवीले प्राण त्याग गर्दा विरक्तिएर शिव भगवानले सतीदेवीको मृत शरीर बोकी मर्त्यलोक झर्दा सतीदेवीको शरीर गल्दै जाँदा शरीरका विभिन्न अंग पतन भएको र जहाँजहाँ शरीरका अंग पतन भए ती स्थान शक्तिपीठको रूपमा मानिएको बताइन्छ ।
छायाक्षेत्रमा सतीदेवीका बाँकी रहेका सबै अंग पतन भएकाले भगवान् शिव सतीदेवीको मायाले छायाक्षेत्रमै अझै पनि रहेको विश्वास गर्दै हिन्दुहरू श्रदाका साथ छायाक्षेत्रमा पुग्ने र पूजा–आराधना गर्दछन् । हिन्दु मात्र होइन, छायानाथलाई बौद्ध धर्मावलम्बीहरू एब्लाङ भगवान् सम्झेर पूजा गर्ने गर्दछन् ।